कोभिड प्रभावित पत्रकारलाई उपचार खर्च उपलब्ध गराउन माग
काठमाडौं, जेठ ३१ : न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण...
काठमाडौं, जेठ ३१ : न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन्।
नवनियुक्त सञ्चार तथा सूचनाप्रविधिमन्त्री नैनकला थापासँगको छलफलमा उनले कोरोनापीडित पत्रकारहरुको समस्या समाधान गर्न आग्रह गरेका हुन्। मन्त्री थापा निरीक्षण र ब्रिफिङका लागि समितिको कार्यालय संचारग्राम पुगेकी थिइन्।
अध्यक्ष अर्यालले कोभिड भ्याक्सिन लगाउन बाँकी श्रमजीवी पत्रकारलाई तत्काल भ्याक्सिनको व्यवस्था गर्न पनि आग्रह गरे।
कोभिड-१९ बाट संक्रमित भई अस्पतालमा उपचाररत, निको भएका र ज्यान गुमाएका श्रमजीवी पत्रकार र तिनका परिवारलाई राहतबापत उपचार खर्च उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
कोभिड प्रभावित सञ्चारकर्मीका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले प्याकेजकै रुपमा राहत घोषणा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनले बताए।
त्यसक्रममा उनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनको सम्बन्धित पक्षलाई आग्रह गर्दै कि ऐनको कार्यान्वयन हुनुपर्ने नभए ऐनसँगै समिति नै खारेज गर्न पनि मन्त्री थापासमक्ष अनुरोध गरे।











