Kathmandu Press

लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ

काठमाडौं, जेठ ३१ : अवैध लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई मकवानपुर, बाँके, कञ्चनपुर, इलाम र झापाबाट पक्राउ गरेको हो।  

मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१० राममन्दिर मो नजिकबाट अवैध लागूऔषध र नगदसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरु हेटौंडा–१० राममन्दिर मोड डेरा गरी बस्ने ३१ वर्षीय हेमजंग बानियाँ र सोही उपमहानगरपालिका–१ बस्ने ३४ वर्षीय सुरेश परियार छन्। 

लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले हेमजंगको साथबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगद ३ लाख ६६ हजार २ सय ५० रुपैयाँ तथा सुरेशको साथबाट नगद २ हजार रुपैयाँ फेला पारी पक्राउ गरेको जनाइएको छ। 

बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्त बहादुर विकसमेत चारजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। भे१ह २७१५ नम्बरको अटोलाई लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सोही अटोमा लुकाई ल्याउँदै गरेको गाँजासहित चालक विकसहित अटोमा चारजनालाई पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट १३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँ बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

झापाको कमल गाउँपालिका–३ बस्ने २२ वर्षीय बले भन्ने प्रज्वल बाँनियालाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

इलामको माई नगरपालिका–४ शंकर गाउँबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने लिसाइलो पदार्थसहित सोही नगरपालिका–८ बस्ने २८ वर्षीय महेश थापालगायत चारजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रदेश १–०१३ प७२२२ र ना३२प ६९१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 
 

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्