ख्वप अस्पताललाई चीनबाट दुई करोड बराबरको स्वास्थ्य उपकरण सहयोग
भक्तपुर, जेठ ३० : भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ।चीनको तिब्बतस्थित सान्नान सहरबाट सहयोगस्वरुप ख्वप...
भक्तपुर, जेठ ३० : भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ।
चीनको तिब्बतस्थित सान्नान सहरबाट सहयोगस्वरुप ख्वप अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण आइतबार प्रदान गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ।
जसअन्तर्गत भेन्टिलेटर एक सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १ सयवटा र आईसीयु बेड ५० वटा रहेको नगरपालिकाले जनाएको छ।
तातोपानी नाकामार्फत पठाइएको ती उपकरण अहिले भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ।
सहयोगबापत प्राप्त ती उपकरणलाई चिनियाँ बजारमा ५ लाख ९९ हजार ४ सय युआन अर्थात् नेपाली रुपैयाँ १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँ पर्ने भए पनि नेपालमा तिनको बजार मूल्य लगभग २ करोड रुपैयाँ बराबर हुने बताइएको छ।




प्रकाशित मिति: १२:४९ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











