Kathmandu Press

बैतडीमा यात्रुको पनि कोरोना परीक्षण

बैतडीमा यात्रुको पनि कोरोना परीक्षण

बैतडी, जेठ २९ : बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ। जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो ।  

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताए। उनले भने, ‘हालसम्म ५ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेका छौं ।’

दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। गत जेठ १८ गतेदेखि तेस्रोपटकका लागि जारी भएको निषेधाज्ञालाई कडाई गर्दै अनिवार्य रुपमा कोरोना परीक्षण थालिएको हो । 

उनले भने, ‘जिल्ला भित्रिने यात्रुवहाक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिने भनेका छौं, रातिमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक पनि  लगाएको छौं।’ बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण कार्य भइरहेको हो। 

हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। यसअघि भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ। बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। यहाँ कोरोनाका कारण १६ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १०:०२ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्