निषेधाज्ञा उल्लंघन गर्ने ३,८४२ सवारीसाधन नियन्त्रणमा
काठमाडौं, जेठ २८ : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घन्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा...
काठमाडौं, जेठ २८ : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घन्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीमध्ये १ हजार २ वटा गाडी र २ हजार ८ सय ४० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारीसाधनहरुलाई आवश्यक सोधपुछपछि छाड्ने गरिएको प्रहरीले बताएको छ।
नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार २ सय ७ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ५० जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६६ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ।
त्यसक्रममा ४ हजार ९ सय ७६ जनालाई रोकी सम्झाइबुझाइ गरेर छाडिएको छ। साथै देशभर सञ्चालित ८० वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतनामूलक कार्यक्रमअन्तर्गत ४ हजार १ सय ९४ जनालाई सचेत गराइएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रतचा दिइएको छ।











