Kathmandu Press

पोहोर ‘भाइरल’ बनेका पुर्बेली सांसद हांगामले भने : सीमामा तारबार लगाऊ

विराटनगर, जेठ २८ : प्रदेश १ का सांसद प्रतापप्रकाश हांगामले सीमाक्षेत्रमा पर्खाल लगाउन नसके पनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्नेमा जोड दिए।प्रदेश १ सरकारको नीति...
पोहोर ‘भाइरल’ बनेका पुर्बेली सांसद हांगामले भने : सीमामा तारबार लगाऊ

विराटनगर, जेठ २८ : प्रदेश १ का सांसद प्रतापप्रकाश हांगामले सीमाक्षेत्रमा पर्खाल लगाउन नसके पनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्नेमा जोड दिए।

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले सीमामा विवाद भइरहने उल्लेख गर्दै तारबार गर्ने योजनालाई प्रदेश नीतिमा समेट्न आग्रह गरे।

सीमा मिच्नेलाई लखेट्नुपर्ने अभिव्यक्ति दिएपछि गत वर्ष उनी ‘भाइरल’ नै बनेका थिए।

गत वर्ष नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले कब्जा गरेको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बहस भइरहेको थियो।

सभामुखले समय दिएपछि हांगामले भनेका थिए, ‘हिजोआज सुनिएको छ, दार्चुलाको लिम्पियाधुरा, कालापानी भन्नेहरु भारतले मिचेर लगेको छ भन्छन्। कति मिच्यो त ? चार हात मिच्यो कि पाँच हात मिच्यो?’ 

उनले नियम कानूनअनुसार अर्काको सीमा एक इन्च पनि मिच्न नहुने बताए। ‘राति मिचेको हो कि  दिउँसो मिचेको हो? साँच्चै मिचेको हो भने त्यहाँको नेपाली के हेरिबस्यो? त्यतिखेरसम्म पत्रकारले थाहा नपाउने?’ उनले प्रश्नैप्रश्न गरेका थिए।

उनले  आक्रोशित हुँदै भनेका थिए, ‘हाम्रोमा मिचोस् त, ढुंगा भेटे ढुंगाले हान्छौं, बन्दुक भेटे बन्दुकले हान्छौं, खुकुरी भेटे खुकुरीले हान्छौं। कालु पाण्डेले ढुंगा र मुढाले लडेर सीमा सुरक्षा गरेको हो। तुरुन्तै फिर्ता हुनुपर्छ।’

यसपटक पनि उनले भने, ‘पछियता मिच्यो, उता मिच्यो भन्ने हुन्छ,’ उनले भने, ‘बरु सीमामा तार लगाऊ।’ अरु पनि विकासका धेरै काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्