Kathmandu Press

पाकिस्तानमा राजदूत अधिकारीको कूटनीतिक सक्रियता- विदेशमन्त्रीलगायत नेतासँग शिष्टाचार भेट

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले विदेशमन्त्री मखदुम शाह महमुद कुरेसीसँग शिष्टाचार भेट गरेका छन्।
पाकिस्तानमा राजदूत अधिकारीको कूटनीतिक सक्रियता- विदेशमन्त्रीलगायत नेतासँग शिष्टाचार भेट

काठमाडौं, जेठ २८ : पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले विदेशमन्त्री मखदुम शाह महमुद कुरेसीसँग शिष्टाचार भेट गरेका छन्।

राजधानी इस्लामावादस्थित विदेश मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको थियो। भेटवार्तामा दक्षिण एसिया र सार्कको क्षेत्रीय समन्वय र सहकार्यबारेमा पनि छलफल भएको थियो।

त्यसक्रममा राजदूत अधिकारीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, कोभिड-१९ महामारी व्यवस्थापनमा नेपालले गरिरहेका प्रयासहरूबारे मन्त्री कुरेसीलाई ‘ब्रिफ’ गरेका थिए।

मन्त्री कुरेसीले राजदूत अधिकारीमार्फत नवनियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठलाई कार्यकालको सफलताका लागि बधाइ सन्देश पठाएका छन्। त्यसक्रममा नेपालमा रहेका पाकिस्तानी नागरिकलाई उद्धार गर्न सहायता गरेकामा मन्त्री कुरेसीले धन्यवाद ज्ञापन गरेका थिए।

कोभिड-१९ महामारीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै मन्त्री कुरेसीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले गरिरहेको प्रयासप्रति सराहना व्यक्त गरे। महामारीविरुद्ध लड्न पाकिस्तान सरकार नेपाललाई जस्तोसुकै सहायता गर्न तयार रहेको उनले आश्वासन दिए।

राजदूत अधिकारीले नेपाललाई सहायता गरेकामा विदेशमन्त्री कुरेसी, पाकिस्तान सरकार र पाकिस्तानी नागरिकहरूप्रति धन्यवाद ज्ञापन गरे। र, कोभिड-१९ महामारी मानव सभ्यताकै लागि गम्भीर खतरा रहेको उल्लेख गर्दै अधिकारीले यसको नियन्त्रणका लागि सामूहिक प्रयासमा जोड दिए।

उक्त भेटवार्तामा पाकिस्तानी विदेश मन्त्रालय र नेपाली दूतावासका वरिष्ठ अधिकारीहरू पनि सहभागी भए।

यसअघि राजदूत अधिकारीले पाकिस्तानका अर्थमन्त्री ओमर अयुब खान, विपक्षी दलका नेता मुहम्मद सहबाज सरिफ र पूर्वप्रधानमन्त्री साहिद खकान अब्बासी, सिनेटर डा. शाहजाद वासिम तथा पाकिस्तान-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष इसरर तरिनसँग भेटवार्ता गरेका थिए।
 

प्रकाशित मिति: १०:५४ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्