बाढीले बगाउँदा एक युवक बेपत्ता
दुल्लु, जेठ २८ : अविरल वर्षात्का कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। दैलेखको भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका...
दुल्लु, जेठ २८ : अविरल वर्षात्का कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
दैलेखको भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएको प्रहरीले जनाएको छ। सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए।
योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता भएको थापाले जानकारी दिए। स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको खोजी गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको बताए। खोलामा बाढी एक्कासी आउँदा भरिरहेको जाली जोगाउन खोज्दा केशव बेपत्ता भएको उनले बताए।
प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेका छन्। प्रदेश सरकारको १२ लाख रकममा पोडिगाड खोला तटबन्ध तथा सिँचाइ योजनाको काम भइरहेको छ।











