चारवटा प्रदेश सरकार बिहीबार नीति तथा कार्यक्रम ल्याउँदै
काठमाडौं, जेठ २७ : आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारहरुले बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गर्ने भएका छन्। असार १ गते बजेट ल्याउनु...
काठमाडौं, जेठ २७ : आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारहरुले बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गर्ने भएका छन्।
असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम बिहीबार संसदमा पेस गर्ने भएका हुन् ।
बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सबै प्रदेशले यस वर्ष ढिलो गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।
राजनीतिक उतारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेका छन् ।
प्रदेश १ को प्रदेश सभा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
उक्त बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
जसको कार्यसूचीलाई अन्तिम रुप दिन दिउँसो एक बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रदेश २ को प्रदेश सभा दिउँसो ३ बजे बस्दैछ ।
२४ जेठदेखिे बजेट अधिवेशन सुरु भएको प्रदेश सभामा बिहीबार सरकारको तर्फबाट प्रदेश प्रमुख डा। राजेश झाले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको बताइएको छ ।
त्यस्तै, वाग्मती प्रदेशको प्रदेश सभा दिउँसो साढे ३ बजेको लागि बोलाइएको छ ।
प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि बिहीबार नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दैछ ।
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।











