मनाङमा विपद् व्यवस्थापनको पूर्वतयारी
मनाङ, जेठ २७ : बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ। मनसुन शुरु भएसँगै राष्ट्रिय...
मनाङ, जेठ २७ : बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ। मनसुन शुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ।
विपद् न्यूनीकरणका लागि मनाङ जिल्ला विपद् व्यवस्थापन समितिले पनि पूर्वतयारी थालेको छ। वर्षाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपद् आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए।
लामिछानेले भने, ‘प्राकृतिक विपद्बाट जिल्लामा धेरै क्षति हुनबाट जोगाउनका लागि पूर्वतयारी थालिसकेका छौँ।’ उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा बढी जोखिम हुनसक्ने पूर्वानुमान गरिसकेकोले सचेत हुनुपर्ने भएकाले पूर्वतयारी थालेको उनको भनाइ छ।
प्राधिकरणको निर्देशनअनुरूप यस वर्ष बढी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरोको घटनाको प्रतिकार्यका लागि जिल्लाभित्रका चार वटै गाउँपालिकासँग समन्वय गरेर तयारी थालिएको उनले बताए। ‘विपद्को अवस्थामा उद्धारमा खट्ने जनशक्ति तयार भइसकेको छ, वर्षायाम शुरु भइसकेको छ, उद्धारमा खटिने जनशक्तिलाई विश्वव्यापी फैलिएको कोभिड–१९ बाट जोगाउनुपर्ने अवस्था छ, उनीहरुलाई स्वस्थ कसरी राख्ने भन्ने चुनौती थपिएको छ,’ उनले भने।
विगतमा भन्दा हाल स्थानीय सरकारलाई बढी स्वामित्व हस्तान्तरण भएकाले पालिकाहरु सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि स्थानीय तहसँग समन्वय, सहकार्यका लागि अद्यावधिक भएको उनले बताए। अहिले विपद् व्यवस्थापन गर्ने पहिलो पक्ष स्थानीय सरकार भएकोले पालिकाहरुले विपद्को पूर्वतयारीका काम गरिरहेको उनले बताए। (रासस)











