प्रतिपक्षीले गरे प्रदेशसभा बैठक अवरुद्ध
धनुषा, जेठ २५ : प्रदेश २ मा प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको...
धनुषा, जेठ २५ : प्रदेश २ मा प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् ।
प्रदेशसभा बैठक सुरु हुनासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका छन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठक सुरु भए लगत्तै बिरोध जनाएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका छन् ।
विपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसँग समन्वय गरी योजना छनौट गरेर अख्तियारी पठाउने निर्णय गरेपनि सरकारले आफू खुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाए ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको सरकारले दुरुपयोग गरेको आरोप लगाए ।











