Kathmandu Press

नक्कली लोगो प्रयोग गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ

काठमाडौं, जेठ २५ : काठमाडौँको सानो भर्‍याङबाट नक्कली लागो प्रयोग गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्यानिटाइजर...
नक्कली लोगो प्रयोग गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ

काठमाडौं, जेठ २५ : काठमाडौँको सानो भर्‍याङबाट नक्कली लागो प्रयोग गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

स्यानिटाइजर र कस्मेटिक सामानसहित धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई सानो भर्या‍ङमा बस्ने २४ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन्। उनका सहयोगी दुई जना भने भागेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

भारत घर भई थानकोट बस्ने रोशन जैसवालले अवैधरूपमा विभिन्न कम्पनीको नाम तथा लोगो राखी गुणस्तरहीन हेण्ड स्यानिटाइजर उत्पादन गर्ने गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा जाँदा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट पाँच लिटर, ५०० र १०० मिलीलिटरका समेत गरी २०० कार्टुन स्यानिटाइजर बरामद गरिएको छ।

यस्तै श्रेष्ठसँगै भारत घर भएका जैसवालले स्थानीयवासी राजु महर्जनको घरको कोठा भाडामा लिई भारतको श्रीनाथ हरबल एण्ड कस्मेटिक इण्डष्ट्री प्रालिको नाममा कम्पनी दर्ता गरी अवैधरूपमा विभिन्न उद्योगको कस्मेटिक सामानसमेत उत्पादन गर्दै आएको फेला परेको छ।

उक्त घरमा कस्मेटिकको सामान गोदाम गरेर राखेको पाइएकाले वाणिज्य विभागसँगको समन्वयमा सोमबार सिल गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

स्यानिटाइजर र कस्मेटिक कम्पनी खोली अवैधरूपमा भारतीय ब्राण्डका नक्कली सामान उत्पादन गर्ने भारतीय नागरिक जैसवाल र राजन जैशवाल फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:०५ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्