एक्लाएक्लै हिँडेर समृद्धि सम्भव छैन: मुख्यमन्त्री गुरूङ
तनहुँ, असार ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताएका छन्।
तनहुँको ....
तनहुँ, असार ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा सोमबार आयोजित पाँचौँ नगरसभालाई सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले तीन तहका सरकारको लक्ष्य र उद्देश्य एउटै भएकोले सबै सरकारहरु एउटै दिशामा हिँड्नुपर्नेमा जोड दिए।
“प्रधानमन्त्री केपी ओली, सात वटा मुख्यमन्त्री र ७५३ वटा स्थानीय तहका प्रमुख एउटै डुङ्गामा सवार छाैं, सबैको सहकार्य भए मात्रै डुङ्गा पार लगाउन सक्छौँ, विकासका सवालमा पनि सबै एक हुन आवश्यक छ,” उनले भने। उनले तीन तहका सरकारको कदम एउटै भए अबका दश वर्षभित्र मुलुकमा चमत्कार हुने दाबी गरे।
मुख्यमन्त्री गुरूङले नीति तथा कार्यक्रममा आधारित भएर बजेट ल्याउनुपर्नेमा जोड दिँदै धेरै स्थानीय तहले नीति र बजेट एकसाथ पेश गरेको गुनासो गरे। उनले भने,“पहिला नीति तथा कार्यक्रम ल्याउने, त्यसमाथि छलफल गर्ने र नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने पद्धति हो । तर केही स्थानीय तहहरुले पद्धति अनुसरण गर्न सकेनन्।”
केन्द्र सरकारको भर पर्नुभन्दा स्थानीय तहले आम्दानीको स्रोत बढाउनुपर्नेमा सुझाव दिँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि करको दायरालाई फराकिलो बनाउनुपर्ने बताए।