कल्याणकारी लोकतन्त्रको दिशामा लाग्ने विवेकशील साझाकाे घोषणा
काठमाडौं, माघ १३ : विवेकशील साझा पार्टीको काठमाडौंमा सम्पन्न राष्ट्रिय सन्देश भेलाले पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डो¥याउँने निर्णय....

काठमाडौं, माघ १३ : विवेकशील साझा पार्टीको काठमाडौंमा सम्पन्न राष्ट्रिय सन्देश भेलाले पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डो¥याउँने निर्णय गरेको छ ।
पार्टी फूटपछि सातै प्रदेशका जिल्लाहरुबाट आएका करिव पाँच सय प्रतिनिधिले पार्टीलाई एकताबद्ध बनाई नेपालको राजनीतिक र संमृद्धिमुखी रूपान्तरणलाई सुनिश्चित गर्न साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
यस्तो छ पार्टीको घोषणापत्र
आज मिति ०७५ माघ १२ गते, शनिवार विवेकशील साझा पार्टीको राष्ट्रिय संदेश भेला ऐतिहासिक र भब्यरुपमा सम्पन्न भयो। भेलामा सहभागी हामी देशभरीबाट आएका झण्डै ५०० पार्टीका अगुवा सदस्य तथा अभियन्ताहरुले पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोर्याउँदै, अझ सुदृढ, रचनात्मक र एकतावद्द बनाई नेपालको राजनीतिक र संवृद्धिमुखी रूपान्तरणलाई सुनिश्चित गर्न दृढता र प्रतिवद्धताका साथ अगाडि बड्ने निर्णय गर्दै निम्न घोषणा गर्दछौं ।
१) हामी ०७५ पौष २७ गते पार्टीमा एउटा गुटबाट भएको बहिगर्मनका कारण निश्चय नै दुखी छौं। बन्दै गरेको पार्टीमा आफ्ना असहमतिहरु राख्ने, छलफल गर्ने र लोकतान्त्रिक प्रकृयाबाट निर्णय गर्ने विधिलाई अस्विकार गरी पार्टीबाट टुक्रिएर जाने जस्तो अनपेक्षित कार्य गर्ने नेता साथीहरुले पार्टीका सदस्य, सुभचिन्तक र आममतदाताहरुलाई दुखी बनाएको हाम्रो ठहर छ। यद्दपी हामीले सो घटनालाई शिक्षाको रुपमा ग्रहण गर्ने निर्णय गरेका छौं। यही निर्णयसाथ थप एकता, उर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पको रुपमा स्थापित गर्न हामी सामुहिक प्रतिवद्दता ब्यक्त गर्दछौं ।
२) नेपालीहरूको लामो संघर्षपछी प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ ले प्रत्याभुत गरेका पुर्ण लोकतान्त्रिक अधिकार र संवृद्धिका सपनाहरु पुरा गर्न बर्तमान सरकार विफल हुदैँ गएको छ। प्रतिपक्षी दलले आफ्नो भुमीकालाई रचनात्मक र प्रभावकारी बनाउन सकेको छैन। परिणामस्वरूप जनता निरास छन्। भ्रष्टाचार तिब्र छ। महंगी आकासिँदो छ। शिक्षा, स्वास्थ र सामाजिक सुरक्षाका बिषयहरु महंगो बन्दैछन् । राष्ट्रिय उत्पादन कमजोर छ। ग्रामीण अर्थतन्त्रमा सुधार छैन। प्रदेश र स्थानीय सरकार योजना विहिन छन्। यस्तो वेला हामी सरकार र प्रतिपक्षी दुबैलाई जिम्मेवार हुन र जनतासंग गरेका वाचाहरु नबिर्सन गम्भिर ध्यानाकर्षण गराउछौं ।
३) नेपालमा पुर्ण लोकतन्त्र, सुशासन, सामाजिक न्याय र संम्वृद्धिका सपनाहरु पुरा गर्न पुराना राजनीतिक विचार र नेतृत्वबाट संभव छैन। त्यसैभएर हामीले देशमा रूपान्तरणकारी वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका हौं । हामीलाई लाग्छ ‘कल्याणकारी लोकतन्त्र‘ को वैचारिक आलोक र कार्य्दिशा तथा ‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता’ जस्ता मूल्यमान्यताको अवलम्वनबाट मात्र देशमा बिद्यामान सबै खाले विकास, सम्वृद्धि, सुशासन र सामाजिक न्यायका चुनौतीहरुलाई संवोधन गर्न सक्छ। यसर्थ विवेकशील साझा पार्टीले अंगिकार गरेको ‘कल्याणकारी लोकतन्त्र’ को राजनीतिक कार्य्दिशा तथा मूल्यमान्यतालाई स्थापित गर्न हामी निरन्तर कृयाशिल हुनेछौं।
४) हामी राजनीतिमा खासगरी युवा र महिला सहभागीताका लागि आह्वान गर्न चाहान्छौं। हामी आजको पुस्ताको राजनीतिक सहभागीता र नेतृत्वलाई प्रवर्धन गर्न सधैँ प्रयत्नशील हुनेछौं। हामीलाई थाहा छ, आजको पुस्ताको सपना, आशा र भाषाले नै आजको युगलाई सम्वोधन गर्ने सामर्थ्य राख्दछ। अतः हामी युवाहरुलाई आफ्नो अध्ययन र वृत्तीविकासमा असर नपर्ने गरी पार्टीमा संलग्न हुन, राजनीतिक नेतृत्व लिन र अगाडि बढ्न आह्वान गर्दछौं।
५) देश रूपान्तरणकारी वैकल्पिक पार्टी निर्माणका लागि मूल्यमान्यता सहितको संगठन र सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने अभियान अत्यावश्यक दुई खम्बा हो भन्नेमा हामी सचेत छौं। यसर्थ हामी जनताको जिवनसँग सम्वन्धित महत्वपुर्ण मुद्धाहरुमा जनतासँगै मिलेर विभिन्न अभियानहरु शुरू गर्नेछौं। हामी छिटै नै भ्रष्टाचार बिरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवर्धन अभियान, सामाजीक सद्भाव र एकताका अभियानहरु देशैभरी संचालन गर्नेछौं।
६) राजनीति हाम्रा लागि पेसा होइन, सेवाको उच्चतम् अभिव्यक्ति हो। यसलाई हामी देश र जनताको भाग्य र भविष्य बदल्ने एक संकल्प, एक साधना, एक अभियानको रुपमा स्विकार गर्दछौं।
७) हामी आगामी ०७६ फाल्गुण १५ देखी १९ गतेसम्म आयोजना हुने पार्टीको प्रथम ऐतिहासिक माहाधिवेशनलाई शानदारसँग सफल बनाउन आजैबाट काममा जुट्नेछौं। त्यसका लागि सदस्यता वितरण गर्ने, संगठन निर्माण गर्ने, अभियानहरुको विकास गर्ने, जनताका मुद्धाहरुसँग एकाकार हुने र तलैबाट एक उन्नत र गतिशील पार्टी निर्माण गर्ने काममा निरन्तर कृयाशिल हुनेछौं।
९) यो देशको रूपान्तरणको अभिभारा बोक्न हामी तयार छौं। त्यसक्रममा आएका र भविष्यमा आउने समस्या र चुनौतिहरू हामी चिर्दै अगाडि बढ्नेछौं। हाम्रो यात्रा सहज हुने छैन भन्नेमा पनि हामी सचेत छौं। सगरमाथाको चुचुरो चुम्ने यात्रा कहिल्यै सहज हुँदैन। यो कठीन र चुनौतिपूर्ण यात्रामा हामीलाई निरन्तर सहयोग गर्ने नेपालभित्र र बाहिर बसेका सम्पुर्ण सुभेच्छुक, सहयोगी र सदस्य साथीहरूप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं। हामी सबै मिलेर यो देश हाम्रै जीवनकालमा रूपान्तरण गर्न सक्छौं भन्नेमा हामी विश्वस्त छौं ।










