हिमालबाट २७ हजार किलो फोहर संकलन

काठमाडौं, जेठ २२ : नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत विभिन्न हिमालबाट २७ हजार किलो फोहोर संकलन गरेको छ। सेनाको अगुवाइमा सर्वोच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट फोहोर संकलन गरेको थियो।
सेनाले गत चैत ३१ गतेदेखि जेठ १५ सम्म चलाएको सफा हिमालय अभियानअन्तर्गत २७ हजार ६७१ किलो फोहर गरेको हो । जसमा नकुहिने २५ हजार १ सय ६६ किलो र कुहिने २ हजार ५ सय ५ किलो फोहोर थियो । सेनाले नकुहिने फोहोर प्रशोधनका लागि काठमाडौ ल्याएर सम्बन्धित संस्थालाई दिएको छ भने कुहिने फोहोर सम्वन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो।
यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाईका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले सेनाको अगुवाईमा ४३ सैनिक र ६९ गैरसैनिक सम्मिलित पाँच टोली बनाएर अभियानका क्रममा छ हिमालबाट फोहर संकलन गरिएको बताए ।
अभियानका क्रममा तीन जना सैनिक र दुई जना गैरसैनिकले आमादब्लम हिमालको सफल आरोण समेत गरेका थिए ।











