निषेधाज्ञा उल्लंघन गर्ने २५३३ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा
काठमाडौं, जेठ २२ : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्।विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा...
काठमाडौं, जेठ २२ : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा ६ सय १४ वटा गाडी र १ हजार ९ सय १९ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केही सवारीसाधनलाई आवश्यक सोधपुछपछि छाडिएको जनाइएको छ।
साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ४४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
त्यस कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार २ सय १९ जनालाई निःशुल्क मास्क वितरण गरिएको जनाइएको छ।
प्रहरीका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६० हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ।
सो क्रममा ३ हजार ४ सय २९ जनालाई रोकी सम्झाईबुझाई छाडिएको छ। साथै देशभर सञ्चालित ८५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ३ सय २७ जनालाई सचेत गराइएको छ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ।











