ढुंगागिट्टी निकासी गर्ने निर्णय फिर्ता नलिए सत्याग्रहमा उत्रिने शान्ति समाजको चेतावनी
बुटवल, जेठ २२ : मानवअधिकार तथा शान्ति समाजले सरकारले ढुंगागिट्टी निकासी गर्ने निर्णय फिर्ता नलिए सत्याग्रहमा उत्रिने चेतावनी दिएको छ।विश्व वातावरण दिवसका अवसरमा...
बुटवल, जेठ २२ : मानवअधिकार तथा शान्ति समाजले सरकारले ढुंगागिट्टी निकासी गर्ने निर्णय फिर्ता नलिए सत्याग्रहमा उत्रिने चेतावनी दिएको छ।
विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको उल्लेख गरेका छन् ।
वातावरण विनाश गर्ने सरकारको नीतिले दक्षिणको मैदानी इलाका मरुभूमीकरण हुने खतरा रहेको भन्दै समाजले सरकारको ध्यानाकर्षण गराएको छ। ‘सरकारको यो आत्मघाती कदम वातावरणीय प्रतिगमन हो, छिमेकीलाई रिझाउन अंगदान गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ।
शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स) मा जोड दिंदै हिमालय बचाऊ आन्दोलन समेत सञ्चालन गरिरहेको जनाएको छ। सरकारबाट यस किसिमको गलत निर्णय फिर्ता गराउन समाजका सबै तह र तप्काको सामूहिक पहल र दबाबको आवश्यकता उनले औंल्याए।
यसैबीच समाजले विश्व वातावरण दिवसका सन्दर्भमा विभिन्न जिल्लामा वृक्षरोपण गरेको छ।











