Kathmandu Press

एचआईभी संक्रमितको घरघरमा पुर्‍याइँदै एआरभी औषधि

चितवन, जेठ २२ : कोरोनाको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको छ। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले...
एचआईभी संक्रमितको घरघरमा पुर्‍याइँदै एआरभी औषधि

चितवन, जेठ २२ : कोरोनाको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको छ। 

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्या‍उँदै आएको हो। यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार ६ जना रहेका छन्। जसमध्ये ४५ जना बालवालिका रहेका छन्। 

औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्या‍उने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए। उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पुर्या‍उँदै आएको छ।

यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्बिनी प्लस नामक संस्थाले सहयोग गरेका छन्। कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पु¥याउँदै आउनु भएको छ। यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट–सुस्ता पूर्व नवलपरासी, वर्दघाट –सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्या‍उने गरेको छ।

उनले भने, ‘निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पु¥याएका छौ।’ नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पु¥याईदै आईएको उनले जानकारी दिए। 

औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजिकरण गरेको औषधि पुर्या‍उँदै आएका अधिकारीले बताए। उनले भने, ‘एचआईभि एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पुर्या‍उनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ।’ परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए।

कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआईभि सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन्। फाउन्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन्। उनीहरु मध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिदै आएका छन्। (रासस)

प्रकाशित मिति: ०८:२६ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्