Kathmandu Press

समता अस्पताल काण्ड : मृतक विमलाका श्रीमान र देवरले खोले नयाँ रहस्यहरू

काठमाडौं, असार ७ :  काठमाडौंको वौद्धस्थित समता अस्पतालमा सफाई कर्मचारीको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङको शव गत असार ३ गते त्यही अस्पत....

समता अस्पताल काण्ड : मृतक विमलाका श्रीमान र देवरले खोले नयाँ रहस्यहरू
शोभा मानन्धर

काठमाडौं, असार ७ :  काठमाडौंको वौद्धस्थित समता अस्पतालमा सफाई कर्मचारीको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङको शव गत असार ३ गते त्यही अस्पतालमा भेटियो।

काभ्रे घर भई हाल श्रीमान र ६ वर्षीय छोरासँग बौद्धमा डेरा बस्दै आएकी विमला गत असार २ गते विहान सदा झैं अस्पताल गएकी थिइन्। उनको ड्यूटी साँझ ७ बजे सकिन्थ्यो। तर, त्यो साँझ उनी घर फर्किनन्। भोलिपल्ट उनको शव अस्पतालको १८ नम्बर वार्डमा झुण्डिएको अवस्थामा फेला पर्‍याे। 

विपन्न समुदायका बालबालिकालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने समता स्कुल खोलेर चर्चामा आएका उत्तम सञ्जेलले स्थापना गरेको समता अस्पतालमा विमलाको लाश भेटिएपछि उनका आफन्तहरू अहिले न्याय माग्दै आन्दोलनरत छन्।

Hardik ivf

विमलाका आफन्तहरू आइतबार गौशाला प्रहरी कार्यालयमा धर्ना दिन पुगेका थिए। तर, प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई त्यहाँबाट लखेट्यो। 

गौशालामा प्रहरीको लाठी खानेहरूमा विमलाका श्रीमान् वुद्धिराज योञ्जन र देवर दिनेश योञ्जन लामा पनि थिए। काठमाडौं प्रेससँग कुरा गर्दै बुद्धिराज र दिनेशले विमला हत्याकाण्डबारे केही रहस्योद्घाटनहरू गरे।

विमलाको लाशसँगै प्रहरीले एउटा चिर्कटो फेला पारेको थियो। त्यो चिर्कटोमा रोमन लिपिमा लेखिएको छ –

तीर्थ दिदीलाई समाउनूस्, रिसेप्सनको सङ्गीतालाई समाउनूस्, म्यामलाई समाउनूस्।

विमला तामाङको लाशसँग भेटिएको चिर्कटोको तस्वीर उनका देवर दिनेश योञ्जन तामाङको मोबाइलमा । तस्वीरः शोभा मानन्धर

यही चिर्कटोको आधारमा प्रहरीले त्यही अस्पतालमा सफाई कर्मचारीको रुपमा काम गर्ने तीर्थ कुमारी श्रेष्ठ, रिसेप्सनिष्ट सङ्गीता केसी र समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेललाई पक्राउ गरेको छ। 

कतिपयले विमला निरक्षर रहेको र उनको लाशसँगै फेला परेको चिर्कटो अरुले नै लेखेर राखेको दाबी गरेका छन्। तर, विमलाका श्रीमानले आफ्नी श्रीमतीलाई नेपाली लेख्न नआए पनि रोमन अङ्ग्रेजी लेख्न आउने बताए।

बुद्धिराजले भने, ‘मेरी श्रीमतीलाई अङ्ग्रेजी पढ्न–लेख्न आउँथ्यो, तर नेपाली लेख्न आउँदैन थियो। किनकि, उनले भारतको मेघालयमा कक्षा ९ सम्म पढेकी थिइन्।’

विमलाका देवर दिनेश योञ्जनका अनुसार, त्यस दिन (असार २) साँझ साढे सात बजेतिर बिमलाका श्रीमान बुद्धिराज काममै थिए। उनलाई विमलाको मोबाइलबाट फोन आयो। बुद्धिराजले फोन उठाउन पाएनन्। पछि बुद्धिराजले कल ब्याक गरे। तर, विमलाको फोन उठेन। 

केही समयपछि समता अस्पतालको ल्यान्डलाइनबाट कसैले वुद्धिराजलाई फोन गरेर भन्यो –तपाईंको मान्छे हरायो, यहॉ छैन। 

कोठामा फर्केर हेर्दा श्रीमती नपाएपछि बुद्धिराज समता अस्पताल पुगे। तर, विमला त्यहाँ थिइनन्। काउण्टरमा बसेकी एक महिलाले विमलाको मोबाइल भने बुद्धिराजलाई दिए।

विमला तामाङका देवर दिनेश योञ्जन तामाङ आइतबार गौशाला प्रहरी कार्यालय अगाडि । तस्वीरः शोभा मानन्धर

देवर दिनेश योञ्जन भन्छन्, ‘मान्छे हरायो भन्ने, तर हराएको मान्छेको मोबाइल भने अस्पतालमा हुने? यो कसरी भयो?’

अस्पतालमा विमला नभेटिएपछि बुद्धिराजले १०० मा फोन गरेर प्रहीलाई बोलाएका थिए। प्रहरी टोली त्यही साँझ अस्पताल पुग्यो। तर, विमला फेला परिनन्। 

बुद्धिराज र आफन्तले राति ११ बजेसम्म विमलाको खोजी गरे। सीसी क्यामेरामा विहानदेखि साँझ सवा ६ बजेसम्मको फुटेज हेर्दा पनि बिमला ९ बजेर १८ मिनेट जॉदा अस्पताल छिरेको देखिन्छ। केही मिनेटपछि अस्पताल बाहिर निस्केर ९ बजेर २६ मिनेटमा फेरि भित्र छिरेको पनि देखिन्छ। तर, उनी त्यसपछि अस्पतालबाहिर गएको देखिँदैन। 

विमला अस्पतालबाहिर गएको फुटेज नदेखिएपछि वुद्धिराजले श्रीमती अस्पतालभित्रै रहेको शङ्का गर्दै त्यहीँ खोजी जारी राखे। अस्पतालका सबै कोठा उनीहरूलाई देखाइयो। तर, १८ नं वार्ड र र प्रसूतिगृह खोलिएनन्। वुद्धिराज भोलिपल्ट अरु आफन्त लिएर अस्पताल पुगे। त्यसपछि अस्पतालले दुबै बन्द कोठा खोल्यो। र, १८ नं. वार्डमा विमलाको लाश भेटियो।

देवर दिनेश योञ्जन भन्छन्, ‘यो सरासर हत्या गरेर झुण्ड्याइएको अवस्था हो। किनभने, कोठामा झ्याल ढोका सबै लक गरिएको छ। बाहिर ढोकामा ताला लगाइएको छ। यस्तो अवस्थामा कसैले कसरी आत्महत्या गर्न सक्छ?’

विमलाले समता असपतालमा काम सुरु गरेको असार ११ गते दुई महिना पुग्दै थियो। तर, तलब वापत एक रुपैयाँ पनि पाएकी थिइनन्। त्यसैले पारिश्रमिक आउनेबित्तिकै काम छोड्ने योजनामा विमला रहेको उनका श्रीमान बुद्धिराजले काठमाडौं प्रेसलाई सुनाए। 

बुद्धिराज भन्छन्, ‘तिर्थ दिदी भन्नेले कामका हल्का दवाव दिने गरेका कारण उनी काम छोड्ने सोचमा पुगेको थिइन्।’

प्रकाशित मिति: १९:४१ बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्