Kathmandu Press

तीनपटक सूचना प्रकाशित गर्दा परेन बोलपत्र

दमौली, जेठ २१ : ढुङ्गा, गिटी र बालुवा उत्खनन्का लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको...
तीनपटक सूचना प्रकाशित गर्दा परेन बोलपत्र

दमौली, जेठ २१ : ढुङ्गा, गिटी र बालुवा उत्खनन्का लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ। चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खनन्को अनुमति दिएको हो। 

गाउँपालिकाले २०७७ माघ १४, फागुन १३ र २०७८ वैशाख ६ गते सूचना प्रकाशित गरेको थियो। तीनैपटक कसैको बोलपत्र नपरेपछि उक्त कम्पनीलाई रु ३० लाखमा अनुमति दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए। गत आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवा उठाउन सोही कम्पनीले ठेक्का पाएको थियो। कोरोना कहर र निषेधाज्ञाका कारण नदीजन्य पदार्थ सङ्कलन नभएपछि गाउँपालिकालाई राजश्व घाटा लागेको थापाले बताए। 

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा देवघाटस्थित स्वतन्त्र युवा समूहले विरोध जनाएका छन् । स्थानीयवासीको विरोध रहिरहे आगामी आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवाको ठेक्का नलाग्ने निश्चित भएकाले सचेत हुन थापाले आग्रह गरे। उनले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट बोलपत्रमा लैजाने वातावरण सिर्जना गर्न आग्रह गरे। नदीजन्य पदार्थ उत्खनन्बाट सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने थापाले भने। ‘देवघाट गाउँपालिकाको वनपैदावर, ढुङ्गा, गिटी, बालुवा, विकास निर्माण कार्यमा देवघाटका युवालाई प्राथमिकता दिन्छौँ,’ उनले भने। 

देवघाटस्थित स्वतन्त्र युवाहरुको समूहले भने जथाभावी रुपमा उत्खनन् गरेको भन्दै गाउँपालिकासमक्ष विरोधपत्र बुझाएका छन् । गाउँपालिकाका मुख्य घाटहरुबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन् रोक्न माग गर्दै विरोधपत्र बुझाइएको युवा गणेश थापाले बताए। 
 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्