नारायणगढ–बुटवल सडकमा सात पुल निर्माण हुँदै
नवलपुर, जेठ २१ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको...
नवलपुर, जेठ २१ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ।
आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए।
उनले भने, ‘सडकलाई डाइभर्सन गरेर माइनर ब्रिजको काम अगाडि बढाइएको क्षेत्रमा मनसुन अगाडि नै काम सक्ने योजना बनाएर निर्माण अगाडि बढेको छ। वर्षा अगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ।’
नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताए। ‘अहिले यहाँ कार्यरत सबै मजदुर पुल निर्माणका लागि परिचालन गरिएको छ। निर्माणाधीन सातवटा माइनर ब्रिजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेका छन्।’
तीनवटा पुलमा एप्रोच रोड (पुललाई सडकसँग जोड्ने बाटो) बनाएपछि सवारी साधन सञ्चालन गर्न सकिने दिस्टीले बताए। ‘अन्य पुलमध्ये केहीमा सबस्ट्रक्चर (पिलरको काम) सकिएको छ,’ उनले भने, ‘केहीमा भने सुपर स्ट्रक्चर (पुल निर्माणका लागि बिम राख्ने तथा ढलान गर्ने काम)को लागि फर्मा राख्ने काम भइरहेको छ।’
आयोजनाअन्तर्गत खण्ड–१ को काममा अहिले ८० देखि १०० जनासम्म मजदुर प्रयोग हुने गरेका दिस्टीले बताए। ‘कोभिडको असरका कारण काममा ढिलाइ भएको छ, केही मजदुर बिरामी परेर घर गए केही भने बिरामी हुने डरले काममा आउनै छाडे,’ उनले भने, ‘मजदुर नहुँदा काममा ढिलाइ भएको हो, निषेधाज्ञाले कुनै असर परेको छैन, स्थानीय प्रशासनबाट पूरै सहयोग पाइरहेका छौं।’ अहिले पुल निर्माणको काममा स्थानीय मजदुर बढी प्रयोग भइरहेका दिस्टीले बताए।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ मा साना १०० भन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन् । सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण हुँदैछन् । फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुने आयोजना प्रमुख दिस्टीले बताए।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ । गैँडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी) लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ।
दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ। (रासस)











