Kathmandu Press

छत्रपाटी चिकित्सालयलाई काठमाडौं महानगरले दियो दुुई भेन्टिलेटर 

काठमाडौं, जेठ २० : काठमाडौँ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर प्रदान गरेको छ।महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा...
छत्रपाटी चिकित्सालयलाई काठमाडौं महानगरले दियो दुुई भेन्टिलेटर 

काठमाडौं, जेठ २० : काठमाडौँ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर प्रदान गरेको छ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गरेका हुन्।

महानगरले सो अस्पताललाई जेठ ८ गते पनि भीजी ७० मोडलका दुईवटा भेन्टिलेटर दिएको थियो। ती भेन्टिलेटर भगिनी सहर ल्हासाबाट प्राप्त भएको महानगरले जनाएको छ।

आज हस्तान्तरित भेन्टिलेटर भने महानगरको अनुदानमा अस्पतालले खरिद गरेको जनाइएको छ । जर्मनमा उत्पादित यी उपकरण एउटैको मूल्य करिब २६ लाख ५० हजार रुपैयाँ पर्ने जनाइएको छ।

‘अहिले कोविड नियन्त्रणको अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा छन्,’ महानगर प्रमुख शाक्यले भने, ‘जसरी हुन्छ, संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिन महानगर केन्द्रित छ।’

उनका अनुसार कोभिड नियन्त्रणका लागि कम लगानीमा धेरै प्रतिफल प्राप्त गर्न महानगरले सरकारी र सामुदायिक अस्पतालहरूसँग सहकार्य गरेको छ। यसबाट संक्रमणमा परेका हरेक व्यक्तिले सहज उपचार पाउन सक्ने अपेक्षा गरेको बताए ।  

महानगर मातहतमा १४ वटा आइसोलेसन सेन्टर छन्। जसमा ५ सय ७४ वटा बेडमध्ये बिहीबार बिहानसम्म १ सय ४३ बेडमा बिरामी रहेको र केह िबेड खाली रहेको जानकारी महानगरले दिएको छ।

‘आवश्यक पर्नेले वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्छन्,’ उनले  भने। 

 
 

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्