Kathmandu Press

इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

जेरुसेलम, जेठ २० : इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन्।देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत...
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

जेरुसेलम, जेठ २० : इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन्।

देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए। इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ। 

आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ। हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका थिए ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे। साठी वर्षीय हर्जोगले भने, ‘हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नु पर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नु पर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नु पर्दछ ।’

हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता थिए। उनी सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए। 

हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुन्। उनका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत थिए। उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेश मन्त्री रहेका थिए। 

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् । 
 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्