धुलिखेल नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने
काभ्रे, जेठ २० : धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार दिने भएको छ। कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज...
काभ्रे, जेठ २० : धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार दिने भएको छ।
कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। ‘महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौं,’ नगरप्रमुख अशोक ब्याञ्जूले भने।
उनका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ। कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल तीन सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन्।
धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ। यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा तीन सय २५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा दुई सय ७३ सङ्क्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २१५ सक्रिय सङ्क्रमित रहेका छन्। कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३०३, पनौतीमा २०६, पाँचखालमा ३३२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १९० तथा रोशी गाउँपालिकामा १५४, चौँरीदेउरालीमा ५७, तेमालमा १०३, भुम्लुमा २१०, खानीखोलामा ३८, बेथानचोकमा १२० र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ।
कुल सङ्क्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ।











