Kathmandu Press

पाँचथरवासीले खरिद गरे ५० अक्सिजन सिलिन्डर, २० कन्सन्ट्रेटर, १०० अक्सिमिटर

पाँचथर, जेठ १७ : सदरमुकाम फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर खरिदका लागि शुरु गरिएको अभियानमा हालसम्म करिब ५७ लाख रुपैयाँ जुटेको...
पाँचथरवासीले खरिद गरे ५० अक्सिजन सिलिन्डर, २० कन्सन्ट्रेटर, १०० अक्सिमिटर

पाँचथर, जेठ १७ : सदरमुकाम फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर खरिदका लागि शुरु गरिएको अभियानमा हालसम्म करिब ५७ लाख रुपैयाँ जुटेको छ ।

पाँचथर उद्योग वाणिज्य संघको अगुवाइमा उक्त अभियान ४ जेठदेखि शुरु भएको थियो। अभियानको पहिलो दिन नै पाँच लाख आठ हजार ६ सय ५३ रुपैया संकलन भएको थियो । जिल्ला, जिल्लाबाहिर र देशबाहिर रहेका पाँचथरवासी तथा पाँचथरप्रति सद्भाव रहेकाहरूले नगद सहयोग उपलब्ध गराएको संघका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।

Hardik ivf

व्यक्तिगत रूपमा सबैभन्दा बढी बेलायतबाट सूर्य नेम्बाङले एक लाख ३० हजार रुपैयाँ उपलब्ध गराए । संस्थागत ढंगबाट पाँचथर–अस्ट्रेलिया समाजले ११ लाख १८ हजार रुपैयाँ पठाएको छ ।

शुरुमा करिब ३५ लाख रुपैयाँ लागत अनुमानका साथ अभियान सञ्चालन गरिएको थियो । सहयोग रकम बढ्दै जाँदा आइतबार मात्र ५४ लाख ६० हजार रुपैयाँको सामान खरिद गरिएको संघका अध्यक्षले नेपालले जानकारी दिए ।

उनका अनुसार काठमाडौंस्थित एभरेस्ट ग्याससँग ५० थान अक्सिजन सिलिन्डर खरिद गरिएको छ । यस्तै, ग्लोबल टेक नामक कम्पनीसँग २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको छ । बायोन्टेक नेपालसँग पाँच थान मल्टी प्यारामिटर प्यासेन्ट मनिटर खरिद गरिएको छ ।

५० थान सिलिन्डर आठ लाख रुपैयाँमा खरिद गरिएको हो । यस्तै, २० थान कन्सन्ट्रेटरको मूल्य ३७ लाख रुपैयाँ परेको छ भने पाँच थान मल्टी प्यारामिटर प्यासेन्ट मनिटर नौ लाख रुपैयाँमा खरिद गरिएको छ । यसैगरी, एक लाख ६० हजार रुपैयाँमा एक सय थान अक्सिमिटर खरिद गरिएको नेपालले जानकारी दिए ।

‘यी सबै सामग्री पाँचथर अस्पताल र आवश्यकताअनुसार जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई उपलब्ध गराइने छ,’ संघका अध्यक्ष नेपालले भने ।

तत्कालका लागि लक्ष्य पूरा भए पनि जनस्तरबाट सुविधासम्पन्न एम्बुलेन्स खरिद गर्ने र त्यो पाँचथर उद्योग वाणिज्य संघले नै सञ्चालन गर्ने माग आएको छ । भेन्टिलेटर र अक्सिजन सिलिन्डरसहितको एम्बुलेन्स खरिदका लागि सहयोग अभियान जारी राखिएको नेपालले जानकारी दिए ।
 

प्रकाशित मिति: १०:३९ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्