प्रदेश १ : प्रदेशसभाबाट अर्थ विधेयक पारित
विराटनगर, असार ६ : प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ बहुमतले पारित भएको छ।
प्रदे....

विराटनगर, असार ६ : प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ बहुमतले पारित भएको छ।
प्रदेश नं. १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शुक्रबार सो प्रस्ताव पेश गरेका थिए।
विधेयकमा १२ वटा दफा र पाँच वटा अनुसूची रहेका छन्। सो विधेयकको छलफल प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, विजयकुमार विश्वास, राधा थापाले आ–आफ्ना सुझाव दिएका थिए।
विधेयकको विषयमा सदनमा उठेका प्रश्नहरुको जवाफमा मन्त्री आङ्बोले राजश्व, कर, शुल्क र दस्तुर उठाउन बनाइएको यो विधेयक संविधानको क्षेत्राधिकारभित्रै रहेको प्रष्ट पारे। उनले सदस्यहरुले दिएको सुझाव र सल्लाहका आधारमा बनाइएको विधेयकले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न मद्दत मिल्ने बताए।
उनले यातायातलाई व्यवस्थित गर्न प्रदेशको इलाम, उदयपुर, धनकुटा र विराटनगरमा कार्यालय विस्तार गरिने र यसबाट प्रदेशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे। वन जङ्गलबाट प्राप्त हुने शुल्कको १५ प्रतिशत प्रदेशको सञ्चित कोषमा जम्मा हुने बताउँदै मन्त्री आङ्बोले सरकारले करको दायरा बढाएर मनोरञ्जन कर, पर्यटन शुल्क पनि निर्धारण गरेको बताए। रासस












