Kathmandu Press

पाल्पाको रामपुरका आठ सय घर विद्युतको पहुँचभन्दा बाहिर

पाल्पा, असार ६ : पाल्पाको रामपुर नगरपालिकाभित्रका आठ सयभन्दा बढी घरधुरीमा विद्युत् सुविधा पुग्न सकेको छैन। 

नगरपालिकाका वडा नम्बर १, २,....

पाल्पाको रामपुरका आठ सय घर विद्युतको पहुँचभन्दा बाहिर
सांकेतिक

पाल्पा, असार ६ : पाल्पाको रामपुर नगरपालिकाभित्रका आठ सयभन्दा बढी घरधुरीमा विद्युत् सुविधा पुग्न सकेको छैन। 

नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ९ र १० का गरी ८३३ घरधुरी विद्युत्को पहुँचबाट बाहिर रहेका छन्। नगरका ५, ६, ७ र ८ वडामा भने सबै घरधुरीमा बिजुलीका राम्रो सुविधा पुगेको छ। नगरपालिका–१ मा सबैभन्दा बढी घर बिजुलीको पहुँचभन्दा बाहिर रहेका छन् । यहाँका करीब सात घरधुरीमा बिजुली पुग्न सकेको छैन। नगरकै विकट र दुर्गममा रहेको यो वडाको पन्थे क्षेत्रमा ३० घरधुरीमा बिजुली पुगे पनि वडावासी अझै पनि अन्धकारमा जीवन बिताउन बाध्य छन्। 
       
छम्के, पन्थे, फोक्सिङ्गकोट, बार्दाकोट, चिहानडाँडा, साखर्दी, मकैडाँडा, कुमैडाँडा, फुकलडाँडा, गजबन्दीलगायतका क्षेत्रमा विद्युतीकरण विस्तारको काम भइरहेको वडाध्यक्ष मित्रलाल कँडेलले जानकारी दिए। यी क्षेत्रमा पहिलो प्राथमिकता दिएर विद्युतीकरणको काम सम्पन्न भएपछि अरू क्षेत्रमा विद्युतीकरणको प्रक्रिया अगाडि बढाउने योजना रहेको अध्यक्ष कँडेलको भनाइ छ।
      
यस वडामा तीन वटा लघु जलविद्युत् आयोजना निर्माण भएपनि हाल भने बार्दाकोट र छम्केमा दुई वटा मात्र लघु जलविद्युत् आयोजना सञ्चालनमा छ। विद्युत् सेवाको सुविधा नहुँदा कामकाजमा समस्या परेको वडाका कर्मचारी तथा जनप्रतिनिधिको गुनासो छ।
 
त्यसैैगरी वडा नम्बर २ को अत्रवास क्षेत्रका ४० घरधुरीमा विद्युत् सेवा पुगेको छैन। विद्युतीकरणका लागि काम भइरहेको वडाध्यक्ष ताराबहादुर थापाले बताउनुभयो। उनका अनुसार घरघरमा वायरिङ र बिजुलीको पोल गाड्ने कामहरु सकिसकेको छ। पहिले बिजुली पुगेका गाउँमा पुराना पोल जीर्ण र काठका पोललाई विस्थापित गरी १३ वटा नयाँ पोलका लागि नगरपालिकामा माग गरिएको छ। 

Hardik ivf

त्यस्तै वडा नं ३ को ओइरेघाट, सिनाह, तमलोकवारी क्षेत्रका करीब ६५ घरधुरीमा विद्युत् सेवा नपुगेको वडाध्यक्ष दिनेशकुमार खनालले जानकारी दिए। पुरानो र जीर्ण पोललाई विस्थापित गरी नयाँ पोल नगरपालिकासँग माग गरिएको छ। ४ नं वडाको देविस्थानमा एक घरबाहेक वडाका सबै घरधुरीमा बिजुलीको सुविधा पुगेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए। आर्थिक अवस्था न्यून भएकाले एक घरमा मात्र बिजुली नपुगेको र अब वडा कार्यालयले विद्युतीकरणका लागि सहयोग गर्ने नेपाली बताए।  

वडा नं  ९ का २५ घरधुरीका नागरिकले अझै पनि विद्युत्को सेवा सुविधा उपभोग गर्न पाएका छैनन्। यहाँका मन्छेलुङ्गका पाँच घर, लाम्दीखरकका एक, जब्गादी मधुकोटका एघार, लाम्दीखोलाका आठ घरमा विद्युत् सेवा नपुगेको वडाध्यक्ष इच्छराम सिञ्जालीले जानकारी दिए। 

विद्युतीकरण विस्तारको कुनै पनि काम अगाडि बढ्न सकेको छैन। “विद्युत्का लागि नगरस्तरीय रुपमा अन्य वडामा काम भइरहे पनि यस वडामा कुनै पनि प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन”, अध्यक्ष सिञ्जालीले भने। नगरकै दश नं वडाको मगरे गाउँका दुई घर परिवारबाहेक सबै घरधुरीमा बिजुलीको सुविधा पुगेको वडाध्यक्ष लीलबहादुर गाहाले बताए। आर्थिक अवस्था अत्यन्तै न्यून र अपायक स्थानमा घर रहेका कारण मगरे गाउँका मुक्तबहादुर कुँवर र जङ्गबहादुर आलेको घरमा बिजुलीको सुविधा पुगेको छैन। वडा कार्यालयको यसै वर्षमा यी दुई घरमा पनि विद्युतीकरणका लागि सुविधा पुर्‍याउने योजना रहेको छ।
   
वडा नं ८ मा सबै वडाका घरमा विद्युत् सेवा पुगे पनि पुरानो काठका पोलहरु जीर्ण अवस्थामा रहेकाले ७५ वटा पोल नगरपालिकामा माग गरिएको वडाध्यक्ष बोमबहादुर नामजालीले जानकारी दिए। नगरप्रमुख रमणबहादुर थापाले आगामी दशैँसम्ममा विद्युत् सेवा नपुगेका नगरका सबैजसो घरमा बिजुली बाल्ने गरी काम धमाधम भइरहेको बताए। “रामपुर नगरलाई उज्यालोमय नगरका रुपमा घोषणा गर्ने गरी आउँदो दशैँसम्ममा नगरका सबै घरधुरीमा बिजुलीको सुविधा पुग्नेछ, विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ”, नगरप्रमुख थापाले भने। 

केन्द्रीय विद्युत् प्राधिकरणमार्फत नगरपालिकाका लागि ६० लाख रुपैयाँ रकम विद्युतीकरणमा बजेट प्राप्त भएकामा प्राविधिकको अनुमानअनुसार ४० लाखमा काम सम्पन्न हुने भएपछि २० लाख रुपैयाँ रकम फिर्ता गरिएको नगरपालिकाले जनाएको छ। पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिका कालीगण्डकी वेशीकै व्यापार व्यवसाय गर्ने उपत्यकाका रुपमा लिइन्छ। 

२०७१ साल वैशाख २५ गते रामपुर गाविसबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका नागरिकले अझसम्म पनि विद्युत्को सुविधा उपभोग गर्न पाएका छैनन्। केही स्थानमा सोलार र लघु जलविद्युत्मार्फत सुविधा उपभोग गरे पनि गाउँका गरीब, दलित तथा विपन्न परिवारले अँध्यारोमै जीवन व्यतित गर्न बाध्य छन्। रासस

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्