खाद्य विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं असार ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध भ्रष्ट....
काठमाडौं असार ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले महानिर्देशक कर्णसहित १३ जना कर्मचारीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
महानिर्देशक कर्णसहित विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको हो।
त्यस्तै, प्रुडेन्ट मेडिटेक इन्टरनेशनलका प्रतिनिधि प्रवीण कुँवरविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि आयोगले विस्तृत अनुसन्धान गरेको थियो।
कृषि अनुसन्धानको क्रममा प्रयोग हुने ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइल भ्यान’ खरिद गर्दा नियम कानूनलाई आफू अनुकूल प्रयोग गरी कमिसन खाएर भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको अख्तियारको ठहर छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएका चार थान ‘वेल इक्युपमेन्ट ल्यावोटरी मोबाइल भ्यान’ प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादी, काठमाडौंले आपूर्ति गरेको थियो।
अभियुक्त सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन अख्तियारले विशेष अदालत समक्ष मागदावी पेस गरेको छ।