सभापति देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री
काठमाडौं, जेठ १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देउवाले सङ्क्रमणको जोखिम व्यवस्थापनका...
काठमाडौं, जेठ १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देउवाले सङ्क्रमणको जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य सामग्री डडेल्धुरा पठाएका हुन्।
सभापति देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रबार विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरे। सभापति देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेडलकर १५ थान, आइभी स्टेण्ड १५ थान, पिपिई ८५ थान, केही थान सर्जिकल मास्क र केही आवश्यक औषधि रहेका छन्।
आवश्यकतानुसार विपद् व्यवस्थापन समितिले स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमार्फत वितरण गर्ने छ। पहिलो चरणमा स्वास्थ्य सामग्री जिल्ला पुगेको र अन्य सामग्री पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले बताए। गत वर्ष बन्दाबन्दीमा खाद्यान्न पठाएका देउवाले यस वर्ष स्वास्थ्य सामग्री पठाएका हुन् ।
सङ्घीय सरकार मातहातमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नति नगरिएकाले यसको उचित व्यवस्थापनका लागि प्रयास भइरहेको भट्टले बताए।
यस्तै नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा आइसोलेशन तयार पारिएको छ। कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १६ शय्याको आइसोलेशन बनाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले गत साता आइसोलेशन बनाउन तीव्रता दिन जोड दिएपछि अस्पताल बाहिर अहिले दुई स्थानमा आइसोलेशन बनेका छन्। कांग्रेस पार्टी कार्यालय किसुनजी भवन र रेडक्रम भवनमा आइसोलेशन बनाई सञ्चालनमा ल्याइएका छन्।
नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखा भवनमा दुई÷तीन दिनभित्रै १० शय्याको आइसोलेशन सञ्चालनमा आउने गरी काम भइरहेको छ। डडेल्धुरा अस्पतालमा सामान्य र कोभिडका बिरामीको एकै ठाउँमा उपचार गर्नुपर्ने बाध्यता डडेल्धुरा अस्पतालले जनाएको छ।











