कम्युनिष्ट सरकारलाई हटाउने तागत कांग्रेसमा छ : देउवा
सिन्धुली, माघ १२ : कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय पद्धती कुल्चेर चिकित्सा शिक्षा विधेयक सत्ता पक्षले जवरजस्ती ....

सिन्धुली, माघ १२ : कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय पद्धती कुल्चेर चिकित्सा शिक्षा विधेयक सत्ता पक्षले जवरजस्ती पास गरेको बताएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा आयोजित सहिद बाबुराम बरालको शालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले डा. गोविन्द केसी अनशनमै रहेका बेलामा मरे, मर, बाँचेबाँच भनेर विधेयक पास गर्नु आम जनताको स्वास्थ्य माथिको खेलबाड भएको बताए ।
उनले आफ्ना कार्यकर्तालाई पोस्ने गरी चिकित्सा शिक्षा विधेयक पास गरेको पनि आरोप लगाए । ‘आफूले गरेको संझौतालाई प्रधानमन्त्री केपी ओलीले लत्याएका छन्’ देउवाले भने, ‘सत्ता पक्षको यो कदमले प्रजातान्त्रिक मूल्य मान्यतालाई तिरस्कार गरेको छ ।’
देउवाले डा. केसीको माग पूरा गराउन कांग्रेस लागिरहने पनि बताए । उनले गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाका नाममा रहेका अस्पताललाई प्रदेश मातहतमा झार्ने सरकारको तयारीको पनि आलोचना गरेका थिए । ‘वर्तमान सरकार अपराधीलाई जोगाउन लागेको छ । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गर्न लुगा पखाल्ने र हत्यारालाई उन्मुक्ति दिन सरकार लागेको छ’ देउवाले भने, ‘कम्युनिष्ट सरकारलाई हटाउन तागत कांग्रेसमा छ ।’










