२७ वर्षे छोराको बिहे बालिकासँग गराउँदै मेयर
काठमाडौ, ३१ जेठ : धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले कानूनविपरीत आफ्नो छोराको बिहे एक १७ वर्षीया किशोरीसँग गराइदिन लागेका छन्।
म....
काठमाडौ, ३१ जेठ : धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले कानूनविपरीत आफ्नो छोराको बिहे एक १७ वर्षीया किशोरीसँग गराइदिन लागेका छन्।
मेयर दासका २७ वर्षे छोरा रामभजन दासको बिहे सप्तरीकी १७ वर्षीया सोनु कुमारी दाससँग असार ९ गते हुने तय भएको छ।
मुलुकी अपराध संहिताले २० वर्षभन्दा कम उमेर भएका केटा र केटीबीचको बिहेलाई गैरकानूनी मान्छ। तर, मेयर दासले भने मुलुकी अपराध संहिताको वास्तै नगरी छोराको बिहे उमेर नपुगेकी किशोरीसँग गराइदिन लागेका हुन्।
काठमाडौं प्रेसले शुक्रबार टेलिफोन सम्पर्क गर्दा मेयर दासले छोराको बिहे सोनु कुमारीसँग हुन लागेको स्वीकार गरे। तर, उनले आफ्नी ‘हुनेवाली बुहारी’ को उमेर २२ वर्ष रहेको दाबी गरे।
मेयर दासले भने, ‘उनी (सोनु कुमारी) अहिले १२ कक्षामा पढ्दै छिन्। १२ वर्ष पढ्ने केटी कसरी १७ वर्षको मात्रै हुन्छ?’
तर, काठमाडौं प्रेसले सोनु कुमारीको नागरिकताको प्रतिलिपि पाएको छ, जसअनुसार उनको जन्ममिति २०५९ वैशाख १ गते रहेको छ। यस अनुसार उनको उमेर १७ वर्षमात्रै हो।
मुलुकी संहिता अनुसार २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद र ३० हजार जरिवाना हुन्छ।
नेपालले सन २०३० भित्र बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले बालविवाह अन्त्यका लागि भन्दै बिहेबारी २० वर्षपारि भन्ने नाराका साथल अभियान थालेको छ।
प्रदेश २ मै पनि प्रदेश सरकारल बेटी पढाऔं, बेटी बचाऔं अभियान थालेको छ। तर, जनप्रतिनिधि आफैंले आफ्नो छोरोको बिहे नाबालिकासँग गराउनुले संघीय सरकार र प्रदेश सरकारको बालविवाह विरोधी अभियानको खिल्ली उडाएको छ।
याे पनि
करिमा बेगमको प्रश्नः नागरिकता चाहिँ १६ वर्षमा, छोरीको विहे चाहिँ २० वर्षमा?