सिन्धुलीमा खट्टारदेखि शान्तिनगरचोकसम्म सडक विस्तारको सहमति
सिन्धुली, वैशाख १३ : लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ । सडक...सिन्धुली, वैशाख १३ : लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ । सडक स्तरोन्नति गर्न विवाद रहँदै आएको थियो। सर्वपक्षीय बैठक बसी विस्तार गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खट्टारदेखि धुराबजार बजारसम्म छिटो सडक विस्तार तथा स्तरोन्तिको लागि आवश्यक ११ मिटर चौडाइ क्षेत्र राजमार्गलाई उपलब्ध गराउने निर्णय गरेको छ । धुरादेखि बिपी राजमार्गसम्म उपलब्ध चौडाइमा सडक स्तरोन्नति गर्ने निर्णय भएको बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्काले जानकारी दिए।
साथै बैठकले खट्टारबाट बिपी राजमार्ग जोड्ने गरी वैकल्पिक राजमार्ग अर्थात् बाइपास सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको उनको भनाइ छ । ग्वाङखोला पुलको निर्माणकार्य निर्धारित रूपमा तत्काल अगाडि बढाउनेसमेत निर्णय भएको छ ।
छलफलमा सांसद हरिबोल गजुरेल, बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्का, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक अमेशविन्दु श्रेष्ठ, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय आयोजना प्रमुख राजेन्द्र दास, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सिडिई नातिबाबु खड्का र इञ्जिनियर सिशवसरण तिमिल्सिना सहभागी थिए।
राजमार्ग कमलामाई नगरपालिका-६ धुराबजार हुँदै हेटौंडा जाने सडकको खट्टारसम्म नक्सांकन गरिएको थियो । नक्सांकन भएको क्षेत्रबाट राजमार्ग लैजाँदा धेरै क्षति हुने भएकाले अन्यन्त्रै लैजान माग गर्दै २०७३ भदौदेखि संघर्ष समिति बनेर विरोध गर्दै आएको थियो। यसपछि अव राजमार्ग विस्तारका लागि कमलामाई-४ तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्ने गरी यसैमा सहमति निकाल्न बाग्मती प्रदेशसभा सदस्य खड्काको संयोजकत्वमा समिति बनेको थियो ।
समितिसमेतले निकास दिन नसकेपछि राजमार्ग कताबाट लैजाने भन्ने अन्योल भने कायमै रहेको छ । नक्साङ्कन भएको ठाउँबाट लैजाँदा धेरै क्षति हुने भएकाले तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्नेगरी राजमार्गको विस्तार गर्ने पक्षमा सांसद गजुरेल र प्रदेश सभासदस्य खड्का उभिएका थिए। सहमति निकाल्न नसक्दा भने उनीहरूको प्रयास विफल भएको छ ।
खेतियोग्य जमिनमा दिन प्रतिदिन अव्यवस्थित बसोबास तथा सहरीकरण बढेको र राजमार्ग पनि त्यही क्षेत्रबाट लैजाने र सहरीकरणका माध्यमले व्यवस्थित बस्तीको विकास गर्ने पक्षमा दुई सांसद रहेपनि ख्यातिवाला किसानले जग्गा दिने सहमति नहुँदा र नक्साङ्कन भएकै ठाउँबाट राजमार्ग विस्तार गर्नुपर्ने बाध्यता रहेको छ ।
सिन्धुलीदेखि हेटौंसम्मको सडक निर्माण खण्डमा खट्टारदेखि हेटौँडासम्म सडक विस्तारको काम भए पनि हालसम्म खट्टार–सिन्धुलीमाडीमा सडक विस्तारको काम हुन सकेको छैन। हालै भएको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार राजमार्ग विस्तारले नयाँ गति लिने झिनो आशा पलाएको छ।