वर्षौँ बेवास्तामा परेकी वैज्ञानिक महिला, जसले तयार पारिन् कोरोना खोपको जग
आफ्नो करिअरमा वर्षौँसम्म सबैतिरबाट बेवास्तामा परेकी वैज्ञानिक महिला डा. काटालिन कारिकोको भगीरथ प्रयासको उपज हुन्, फाइजर–बायोन्टेक र मोडर्ना कम्पनीले तयार पारेका कोरोनाविरुद्धका खोप।
कसाई परिवारमा जन्मेकी उनी हंगेरीमा हुर्किइन्। र, वैज्ञानिक बन्ने निर्णय गरिन्। त्यस्तो निर्णय लिनु अघिसम्म उनले कुनै वैज्ञानिकलाई भेटेकी, देखेकी थिइनन्। २० वर्षको उमेरमा उनको परिवार अमेरिका बसाइँ सर्यो। तर, धेरै वर्ष अमेरिकाको ‘पर्मानेन्ट’ हैसियत प्राप्त गर्न सकिनन्। प्राज्ञिक काममा रमाउन भने उनले छाडिनन्।
६६ वर्षीया डा. काटालिन कारिको सहकर्मीमाझ ‘काटी’ उपनामबाट परिचित छिन्। कोभिड-१९ महामारीले उनलाई विश्वमाझ चिनाएको छ। कोरोना भाइरसविरुद्ध खोप निर्माणमा योगदान दिएर उनले विश्वलाई नै गुन लगाएकी छन्।
यी मिहिनेती वैज्ञानिकले पेन्सिलभेनिया विश्वविद्यालयका डा. ड्र्यू वाइजम्यानसँग मिलेर फाइजर-बायोन्टेक र मोडर्ना खोप तयार पार्न जग बसालिन्।
उनको सम्पूर्ण करिअर ‘म्यासेन्जर आरएनए’ (एमआरएनए) भाइरसको अनुसन्धानमा केन्द्रित रह्यो। यो यस्तो आनुवंशिक स्क्रिप्ट हो, जसले हरेक कोशिकालाई प्रोटिन तयार पार्न निर्देशित गर्छ। ‘एमआरएनए’ले कोशिकाहरूलाई आफैँ आफ्ना लागि औषधि तयार पार्छन् भन्ने कुरामा उनी सहमत थिइन्।
तर, धेरै वर्षसम्म पेन्सिल्भेनिया विश्वविद्यालयमा उनको करिअर नाजुक मोडबाट गुज्रियो। कुनै वरिष्ठ वैज्ञानिकको नजर आफ्नो मिहिनेतमा पर्छ कि भनेर पर्खिइरहिन्। र, आफ्नो मिहिनेत पटक्कै छाडिनन्। एउटा प्रयोगशालाबाट अर्कोमा सर्दै आफ्नो प्राज्ञिक क्षमता निखारिरहिन्। तर, उनले वार्षिक ६० हजार डलरभन्दा बढी कहिल्यै कमाउन सकिनन्।
गहन र एकल दिमागवाला उनको मिहिनेतले आफ्नो अलग्गै ‘बेन्च’ तयार पार्न मद्दत गर्यो। त्यस्तो ‘बेन्च’, जहाँ उनलाई प्रसिद्धिको कुनै परवाह थिएन, आफ्नो कामसँग मात्र मतलब थियो। हालैको एक अन्तर्वार्तामा काँध खुम्च्याउँदै उनले भनेकी छन्, ‘बेन्च छ, विज्ञान राम्रो छ, तर यसको परवाह कसैलाई छैन।’
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजका निर्देशक डा. एन्थोनी फाउजीलाई डा. कारिकोको कामबारे थाहा छ। ‘उनी सकारात्मक थिइन्, एमआरएनएको अवधारणामा उनी व्याकुल भएर लागिपरेकी थिइन्,’ डा. फाउजीले भने।
डा. कारिकोले अनुसन्धान क्षेत्रमा रहिरहन गरेको संघर्षले जो कसैलाई रोमान्चित बनाउँछ। त्यो संघर्षबारे वैज्ञानिक जमात भने चिरपरिचत छ। हालसम्म अव्यावहारिक र कपोलकल्पितझैँ मानिएको उनको विचारलाई अगाडि बढाउन कसैले आर्थिक सहायता या अनुदान दिएन, जसको उनलाई अत्यावश्यक थियो। जब कि, अन्य अनुसन्धानहरू निरन्तर पुरस्कृत हुँदै आए।

‘जब तपाईंको अवधारणा परम्परागत विचारविरुद्ध हुन्छ, त्यो परम्परागत विचारलाई भत्काउन गाह्रो हुन्छ। किनकि, त्यो विचार सबैको दिमागमा जकडिएर बसेको हुन्छ,’ डा. कारिकोसँग काम गरेका न्युरोसर्जन डा. डेभिड ल्यांगरले भने। पक्कै पनि डा. कोरिकोका विचार प्रगतिशील थिए।
‘तर, अब यो रूपान्तरण भइरहेको छ,’ डा. फाउजीले भने, ‘यो कोभिड-१९ खोपका लागि परिवर्तन भइरहेको छ। र, अन्य खोपका लागि पनि रूपान्तरण हुँदैछ। जस्तै- इन्फ्लुएन्जा, औलो ज्वरो आदि। र, एचआईभी पीडित मानिस पनि यसबाट उत्साहित छन्।’
‘म ईश्वर बनेँ भन्ने लाग्यो’
डा. कारिकोको दैनिकी प्रयोगशालामै बित्छ। ‘तिमी काम गर्न गइरहेकी छैनौ, रमाइलो गर्न गइरहेकी छौ,’ एक अपार्टमेन्ट कम्प्लेक्सको म्यानेजर रहेका उनका श्रीमान् बेला फ्रान्सिया हरेक साँझ र सप्ताहन्तमा उनलाई भनिरहन्थे। कारिकोले विदा नलिई गरिरहेको कामलाई उनका श्रीमान् आफ्नी श्रीमतीले प्रतिघण्टा एक डलर कमाइरहेकी थिइन् भन्ने हिसाब निकाल्थे।
धेरै वैज्ञानिकका लागि नयाँ खोजको उद्देश्य पैसा कमाउने, कम्पनी बनाउने र प्याटेन्ट प्राप्त गर्ने पनि हुन्छ। डा. कारिकोको हकमा त्यो लागू हुँदैन। ‘त्यो उनको विचारभन्दा टाढाको कुरा हो,’ डा. ल्यांगरले भने।
उनी हंगेरीको सानो सहर किसाजालिसमा हुर्केकी हुन्। र, स्चिड विश्वविद्यालयबाट विद्यावारिधि गरिन्। सोही विश्वविद्यालयको बायोलोजिक रिसर्च सेन्टरमा पोस्टडक्टरल फेलो बनिन्।
सन् १९८५ मा जब विश्वविद्यालयको अनुसन्धान कार्यक्रमलाई आर्थिक अभाव भयो, डा. कारिको, उनका श्रीमान् र दुई वर्षीया छोरी सुजेन अमेरिकाको फिलाडेल्फिया बसाइँ सरे। त्यसको उद्देश्य थियो- त्यहाँ पनि पोस्टडक्टरल फेलो बन्नु। डा. कारिको र उनका श्रीमानले छोरी सुजेनको खेलौनामा नौ सय पाउन्ड लुकाएका थिए। किनकि, हंगेरी सरकारले उनीहरूलाई देशबाट बाहिर जाँदा सय डलर मात्र लान सक्ने अनुमति दिएको थियो। छोरी सुजेन रोइङ खेलकी दुईपटक ओलम्पिक गोल्डमेडल विजेता हुन्।
जतिबेला डा. कारिकोले काम थालेकी थिइन्, एमआरएनए क्षेत्रमा विल्कुलै सुरुआती चरण थियो त्यो। आधारभूत लक्ष्य हासिल गर्न पनि कठिन थियो तर असम्भव थिएन। प्रयोगशालामा अणु बनाउन गाह्रो थियो, शरीरका कोशिकाबाट एमआरएनए पाउन उत्तिकै कठिन।
सन् १९८९ मा उनले डा. इलियट बर्नाथनसँग काम गर्न थालिन्, जो पेन्सिल्भेनिया विश्वविद्यालयको कार्डियोलोजिस्ट थिए। उनले एक अनुसन्धान प्राध्यापकको सहायक (जो तल्लो स्तरको दर्जा थियो) का रूपमा काम गरिन् र कहिले पनि एक स्थायी पदमा रहेर काम गर्न पाइनन्। उनलाई अनुदानबाट प्राप्त रकमबाट सहायता दिने भनिएको थियो तर केही पनि आएन कहिल्यै।

उनी र डा. बर्नाथनले नयाँ प्रोटिन बनाउन कोशिकामा एमआरएनए प्रवेश गराउने योजना बनाए। पहिलो प्रयोगमा उनीहरूले कोशिकालाई युरोकाइनेस रिसेप्टर नामक प्रोटिन तयार पार्ने रणनीति बनाए। र, उनीहरूले एक रेडियोधर्मी अणुका साथमा नयाँ प्रोटिन पत्ता लगाए, जसले रिसेप्टरलाई आफूतिर आकर्षित गर्छ। ‘प्रायः मानिस हामीमाथि हाँसिरहेका थिए,’ डा.बर्नाथनले भने।
एक भाग्यशाली दिन, दुवै वैज्ञानिकले लामो हलको कुनास्थित साँघुरो कक्षमा ‘डट-म्याट्रिक्स प्रिन्टर’मा व्यस्त थिए। रेडियोधर्मी अणु ट्र्याक गर्ने गामा काउन्टर एक प्रिन्टरमा जोडिएको थियो। र, त्यसले विवरण उपलब्ध गराउन थाल्यो।
उनीहरूको डिटेक्टरले कोषहरूद्वारा उत्पादित नयाँ प्रोटिनहरू फेला पार्यो। शरीरका कोशिकामा ती नयाँ प्रोटिन नबन्ने अवधारणा थियो, त्यतिबेलासम्म। र, एमआरएनएले आफ्नै इच्छामा कुनै पनि कोषलार्ई प्रोटिन बनाउन निर्देशित गर्न सक्ने पत्ता लाग्यो।
‘त्यतिबेला म आफैँलाई ईश्वरझैँ लाग्यो,’ डा. कारिकोले त्यो खुशीको क्षण स्मरण गरिन्।
आफ्नो अवधारणा सफल बनेकामा उनी र डा. बर्नाथनको खुशीको सीमा थिएन। सम्भवतः उनीहरूले एमआरएनएको प्रयोग गरेर मुटुको बाइपास सर्जरीका लागि रक्तनलीहरू सुधार गर्न सक्थे। सायद तिनीहरूले मानव कोशिकाको आयु विस्तार गर्न यो प्रक्रिया प्रयोग गर्न सक्थे।
यद्यपि, केही समयपछि नै डा. बर्नाथनले एक बायोटेक फर्ममा पद स्वीकारेर विश्वविद्यालय छाडे। र, डा. कारिको प्रयोगशाला वा आर्थिक सहयोगविहीन भइन्। यदि उनले अर्को प्रयोगशाला मात्रै काम पाएकी भए पनि पेन्सिल्भेनियामा बस्ने थिइन्। ‘तिनीहरूले मैले यो त्याग्छु भन्ने आशा गरिरहेका थिए,’ उनले भनिन्।
‘विश्वविद्यालयले कमस्तरका पीएचडी विद्यार्थीलाई निश्चित केही समयका लागि सहयोग गर्छ,’ डा. ल्यांगरले भने, ‘यदि तिनीहरूले अनुदान नल्याएमा विश्वविद्यालयले तिनीहरूलाई जान दिन्थे। डा. कारिको एक राम्रो अनुदानआश्रित अनुसन्धानकर्मी थिइनन् र त्यो समयमा एमआरएनएलाई एक विचारको रूपमा मात्र हेरिएको थियो।’
डा. ल्यांगरले डा. बर्नाथनको प्रयोगशालामा काम गरेको समयदेखि नै डा. कारिकोलाई चिनेका थिए। डा. ल्यांगरले न्युरोसर्जरी विभाग प्रमुखलाई डा. कारिकोको अनुसन्धानलाई मौका दिन आग्रह गरेका थिए। ‘उनले मलाई बचाए,’ उनले भनिन्।
तर, त्यसबाट आफू मात्र होइन, अन्य धेरै वैज्ञानिकलाई पनि संकुचित बन्नबाट डा. कारिकोले रक्षा गरेको डा. ल्यांगरको मत छ।
‘तथ्यांक केलाउँदै आफ्नै विचारसँग मान्य हुने गरी त्यसलाई प्रमाणित गर्ने खालको प्रवृत्ति वैज्ञानिकहरू माझ छ,’ डा. ल्यांगरले भने, ‘राम्रो वैज्ञानिकले भने आफूलाई गलत प्रमाणित गर्न खोज्छन्। डा. कारिकोसँग असफलता स्वीकार्ने इच्छाशक्ति र कोशिस गरिरहने अद्भूत क्षमता थियो। र, जवाफ दिन सक्ने उनको क्षमताको अघिल्तिर मानिसको प्रश्न गर्ने शैली त्यति स्मार्ट हुँदैनथ्यो।’
डा. ल्यांगरले मस्तिष्कको शल्यक्रियापछि हृदयाघात हुने सम्भावना उच्च बनाउने रगत जम्ने समस्याका बिरामीको उपचारमा एमआरएनए प्रयोग हुने आशा राखेका थिए। उनको विचार रक्तनलीमा नाइट्रिक अक्साइड बनाउन कोषहरू बनाउने थियो। नाइट्रिक अक्साइडले रक्त नलीलाई बढाउँछ तर कोषमा मिलिसेकेन्डको आधा जीवन हुन्छ।
उनी र डा. कारिकोले हृदयाघातबारे अध्ययन गर्न पृथक रक्तनलीहरूमा एमआरएनए प्रयोग गरेका थिए, जुन असफल रह्यो। उनीहरू न्युयोर्कको एक प्रयोगशालामा खरायोमा हुन सक्ने स्ट्रोक परीक्षण गरिरहेका थिए, त्यो पनि असफल भयो।
र, डा. ल्यांगरले विश्वविद्यालय छाडे। उनीसँगै विभागका अध्यक्षले पनि विश्वविद्यालय छाड्ने निर्णय लिए। फेरि पनि डा. कारिको प्रयोगशाला र आर्थिकस्रोतविहीन भइन्।
डा. वाइजम्यानसँग फोटोकपी मेसिनसम्बन्धी एक बैठकमा भएको वार्तालापले सबै कुरा बदल्यो। ‘मैले भनेँ- म आरएनए वैज्ञानिक हुँ। म एमआरएनएसँग जे पनि बनाउन सक्छु,’ उनले त्यो वार्तालाप स्मरण गरिन्।
डा. वाइजम्यानले उनलाई आफूले एचआईभीको खोप बनाउन लागेको बताए। ‘मैले भनेँ- हो म त्यो बनाउन सक्छु,’ डा. कारिकोले जवाफ दिइन्।
उनको बहादुरीको बावजुद एमआरएनमा उनले गरेको अनुसन्धान अवरुद्ध थियो। उनले पेट्री डिसमा एमआरएनए अणु बनाउन सक्थिन्, जसले कोषहरूलाई आफ्नो छनोटको प्रोटिन बनाउन निर्देशित गर्थ्यो। तर, त्यो एमआरएनएले जीवित मुसामा काम गरेन।
‘कसैलाई थाहा छैन किन काम गरेन,’ डा. वाइजम्यानले भने, ‘हामीलाई यति मात्र थाहा छ, मुसा बिरामी परे। मुसाको रौँ ठाडो भयो। ती मुसा कुप्रो भए, खान र दौडिन छाडे।’
रोग प्रतिरोधात्मक क्षमताले संक्रमण गर्ने जीवाणु र सुन्निने प्रतिक्रिया पहिचान गर्दै उनीहरूले एमआरएनए पत्ता लगाए। वैज्ञानिकहरूले सुईद्वारा लगाइएको एमआरएनए रोग प्रतिरोधात्मक क्षमतामा जीवाणुले संक्रमण गरेको जस्तो देखियो।
त्यससँगै अर्को समस्या देखापर्यो। प्रत्येक व्यक्तिको शरीरका हरेक कोशिकाले एमआरएनए बनाउँछन् र रोग प्रतिरोधात्मक क्षमताले केही पनि प्रतिक्रिया जनाउँदैन। ‘त्यसो भए मैले बनाएको एमआरएनए किन फरक भयो त ?’ डा. कारिकोले आश्चर्य प्रकट गरिन्।
अनुसन्धानले अन्ततः एक संकेत दियो। डा. कारिको र डा. वाइजम्यानले उनीहरूको एमआरएनएले रोग प्रतिरोधात्मक क्षमता अत्यधिक बढाएको पाए। तर, नियन्त्रित अणुहरू, जो मानव शरीरमा आरएनएको अर्को स्वरूप, जसलाई स्थानान्तरण आरएनए वा टीआरएनए भनिन्छ। त्यसमा भने केही समस्या देखिएन।
टीआरएनएमा स्युडोरिेडिन भन्ने अणुले यसलाई रोग प्रतिरोधात्मक क्षमताको प्रतिक्रियालाई जित्न सकिने देखायो। र, मानव शरीरको प्राकृतिक एमआरएनएले पनि अणु पाउन सक्ने पत्ता लाग्यो।
डा. कारिको र डा. वाइजम्यानले बनाएको अणुले पनि त्यही क्रम दोहोर्यायो। र, प्रत्येक कोशिकामा १० गुणा प्रोटिनको संश्लेषण निर्देशित गर्दै एमआरएनएलाई धेरै शक्तिशाली बनायो।
स्युडोरिडिनमा एमआरएनए थप्ने अवधारणाले यसलाई शरीरको रोग प्रतिरोधात्मक क्षमता सुरक्षित गर्छ भन्ने खोज एक आधारभूत वैज्ञानिक अनुसन्धान थियो, जसमा विभिन्न प्रकारका अनौठा प्रयोग गरिएका थिए। यसको मतलब रोग प्रतिरोधात्मक क्षमताको संक्रमणलाई नरोकिकन एमआरएनएलाई कोशिकाको कार्य परिवर्तनका लागि प्रयोग गर्न सकिन्थ्यो।
‘हामी दुवैले अनुदानका लागि सहायता माग्न थाल्यौँ,’ डा. वाइजम्यानले भने, ‘तर, पाउन सकेनौँ। मानिसहरूले एमआरएनएमा त्यति रुचि देखाएनन्। मानिसहरू जतिले पनि अनुदान पत्र पढे वा हेरे, उनीहरूले एमआरएनए राम्रो चिकित्सा विधि नहुने बताए र उनीहरूलाई दुःख नदिन भने।’
प्रमुख साइन्टिफिक जर्नलले उनीहरूको काम अस्वीकार गरे। तर, जब अनुसन्धान रिपोर्ट प्रकाशित गर्न उनीहरूले सफलता पाए, संसारभरका अनुसन्धानकर्मीको ध्यान खिच्यो।
त्यसपछि डा. वाइजम्यान र डा. कारिकोले एरिथ्रोप्रोटिनका लागि बाँदरमा एमआरएनएको खोप दिए। त्यसबाट जनावरहरूको रातो रक्तकोशिका बढ्ने पाइयो।
अनि मात्र वैज्ञानिकहरूले त्यस्तै विधि अपनाएर शरीरलाई इन्सुलिन, अन्य हर्मोन वा नयाँ मधुमेह औषधि बनाउन कुनै पनि प्रोटिन औषधि प्रयोग गर्न सकिन्छ कि भन्ने सोचाइ बनाए। एमआरएनएलाई पहिलेभन्दा भिन्न खोप बनाउन प्रयोग गर्न सकिने देखियो।

शरीरमा भाइरस प्रवेश गराउनु साटो चिकित्सकहरूले एमआरएनए दिन सक्थे, जसले कोशिकालाई भाइरसको त्यो अंशलाई छोटकरीमा निर्माण गर्न निर्देशित गर्न सक्थ्यो।
‘हामीले औषधि कम्पनी र पुँजीपतिहरूसँग कुरा गर्यौँ। तर, कसैले वास्ता गरेनन्,’ डा. वाइजम्यानले भने, ‘हामीले हारगुहार गरिरहेका थियौँ तर कसैले सुनेन।’
अन्ततः अमेरिकाको मोडर्ना र जर्मनीको बायोन्टेक कम्पनीहरूले यस काममा ध्यान दिए। फाइजरले बायोन्टेकसँग साझेदारी गर्यो र दुवै कम्पनीले अब डा. वाइजम्यान प्रयोगशालाका लागि आर्थिक लगानी गरे।
‘यसले काम गर्यो’
त्यतिबेला एमआरएनए फ्लू खोपको क्लिनिकल परीक्षण भइरहेको थियो र साइटो मेगाभाइरस र जिका भाइरसविरुद्ध नयाँ खोपहरू निर्माण गर्ने प्रयास पनि भइरहेका थिए। त्यसपछि आयो कोरोना भाइरस।
अनुसन्धानकर्ताहरूलाई २० वर्षदेखि थाहा थियो- कुनै पनि कोरोना भाइरसको मुख्य विशेषता भनेको यसको सतहमा बसिरहेको स्पाइक प्रोटिन हो, जसले भाइरसलाई मानव कोशिकामा आफैँ संक्रमण गर्न सहज बनाउँछ। यो एमआरएनए खोपका लागि ठूलो लक्ष्य थियो।
चिनियाँ वैज्ञानिकहरूले जनवरी २०२० मा वुहानमा उत्पात मच्चाएको कोरोना भाइरसको आनुवंशिक अनुक्रम प्रकाशित गरे र सबै राष्ट्रका अनुसन्धानकर्ता चीन पुगे। बायोन्टेकका वैज्ञानिकले एक घण्टामै यसको एमआरएनए खोपको नमूना तयार पारे। मोडर्नालाई यसको नमूना तयार पार्न दुई दिन लाग्यो।
दुवै खोपको उद्देश्य शरीरमा एमआरएनए परिचित गराउनु थियो, जसले मानव कोशिकालाई संक्षेपमा कोरोना भाइरसको स्पाइक प्रोटिन उत्पादन गर्न निर्देशन दिन सक्थ्यो।
रोग प्रतिरोधात्मक क्षमताले त्यो प्रोटिनलाई एक आगन्तुकको रूपमा पहिचान गथ्र्यो र कोरोना भाइरस शरीरमा देखापर्नासाथ आक्रमण गर्न सक्थ्यो।
यद्यपि, खोपहरूलाई एमआरएनए बन्द गर्नका लागि एक ‘लिपिड बबल’ आवश्यक थियो, जसले यसलाई कोशिकासम्म लैजान्थ्यो र शरीरमा प्रवेश गर्न सक्थ्यो। ब्रिटिस कोलम्बिया विश्वविद्यालयका पिटर कुलिससहित धेरै वैज्ञानिकले आफ्नो २५ वर्षे अनुभवका आधारमा यसबारे अनुसन्धान थाले।
वैज्ञानिकहरूलाई चिनियाँ अनुसन्धानकर्ताले उपलब्ध गराएको भाइरसको स्पाइक प्रोटिनको आनुवंशिक विवरण अलग गर्न आवश्यक थियो। नेसनल इन्स्टिच्युट अफ हेल्थका डा. बार्नी ग्राहम र अस्टिन टेक्सास विश्वविद्यालयका जेसन म्याक्लेनले छोटो समयमा समस्या समाधान गरे।

छिटो डिजाइन गरिएको खोप परीक्षण गर्न कम्पनीहरू र राष्ट्रिय स्वास्थ्य संस्थानहरूको ठूलो प्रयास आवश्यक थियो। डा. कारिकोलाई यसप्रति कुनै शंका थिएन।
८ नोभेम्बर २०२० मा फाइजर-बायोन्टेक अध्ययनको पहिलो नतिजा आयो, यसले एमआरएनए खोपले नयाँ भाइरसका लागि रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने देखायो। डा. कारिको आफ्नो श्रीमानतिर फर्किँदै भनिन्, ‘ओह, यसले काम गर्छ। मलाई त्यस्तै लागेको थियो।’
उनी यति खुशी भइन् कि बदामयुक्त गुबर्स चकलेटको पूरै डब्बा एक्लै खाइसकिन्।
डा. वाइजम्यानले यो खुशी आफ्नो परिवारसँग इटालियन रेस्टुराँमा वाइन पिउँदै रात्रिभोजका रूपमा मनाए। तर, अन्तःस्करणमा उनी डराइरहेका थिए।
‘मेरो सपना सधैँ हामीले प्रयोगशालामा केही यस्तो चिज विकास गर्न सकौँ, जसले मानिसलाई सहयोग पुर्याओस् भन्ने थियो,’ डा. वाइजम्यानले भने, ‘मैले मेरो जीवनको सपना पूरा गरेको छु।’
डा. कारिको र डा. वाइजम्यानलाई १८ डिसेम्बर २०२० मा पेन्सिल्भेनिया विश्वविद्यालयमा खोप दिइयो। उनीहरूलाई भाइरसविरुद्ध खोप लगाउने काम एक पत्रकार सम्मेलनमा परिणत भयो र क्यामेराहरूबाट जब फ्ल्यास बल्न थाले, डा. कारिकोले आफूलाई अस्वाभाविक रूपमा अचेत अवस्थामा पुग्न लागेको महसुस गरिन्।
एक वरिष्ठ प्रशासकले खोप लगाउन तयार चिकित्सक र नर्सहरूलाई वैज्ञानिकहरूको अनुसन्धानले खोप बनाउन सम्भव भएको बताए। हल तालीले गुन्जायमान बन्यो। डा. कारिकोका आँखाबाट खुशीका बलिन्द्रधारा खसे।
न्युयोर्क टाइम्सबाट











