Kathmandu Press

सतिघट्टामा सशस्त्र प्रहरीको विओपी

सतिघट्टामा सशस्त्र प्रहरीको विओपी

झापा, चैत २८ : सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो । 

सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए। प्रजिअ तिम्सिनाले विओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए । झापामा भारतसँगको सीमा क्षेत्रमा विओपी स्थापनाको सङ्ख्या योसँगै १८ पुगेको छ । 

अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले एक हप्ताभित्रमा सात लाख बढीको सामान बरामद गरेको छ । सीमामा स्थापना गरिएका विभिन्न विओपीमा खटिएका सुरक्षाकर्मीले भन्सार छली भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका रु सात लाख १४ हजार ४९० बराबरका सामान बरामद गरेको जनाएको छ ।

पक्राउ गरिएका सामानमा मोटरसाइकलसहित लत्ताकपडा, मोबाइलका पार्टस, हार्डवेयरका सामान र काठ बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: १०:४० बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्