जसपा नेता महेन्द्रप्रसाद यादव भन्छन्– हाम्रो प्राथमिकता मुद्दा हो, सत्ता होइन
‘नयाँ सत्ता गठबन्धनको नेतृत्व कसको हुने भन्ने पछिको कुरा हो, जोसँग सबै कुरा मिल्छ, समर्थन र सहकार्य उही शक्तिसँग हुन्छ’ उनले भने ।
काठमाडौं, चैत २७ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने आफ्नो पार्टीको कुनै निर्णय नभएको बताएका छन्।
काठमाडौं प्रेससँग कुराकानी गर्दै उनले प्रतिगामी शक्तिविरुद्ध एकजुट भएका शक्तिहरू मिल्नुपर्ने आवश्यकता औंल्याए। नयाँ सत्ता गठबन्धनमा जसपाले नेतृत्व गर्ने भन्ने कुरा बाहिरी हल्ला मात्र भएको उनले स्पष्ट पारे।
‘कसको नेतृत्वको गठबन्धनमा जाने भन्ने विषयमा पार्टीभित्र कुनै निर्णय भइसकेको छैन,’ उनले भने। नेपाली कांग्रेस या माओवादी केन्द्र, कसैको पनि नेतृत्वमा गठबन्धन गरेर अगाडि जाने भन्ने विषयमा पार्टीभित्र आधिकारिक रूपमा कुनै छलफल र निर्णय नभएको उनले जानकारी दिए।
आज (शुक्रबार) दिउँसो ३ बजे कांग्रेसले डाकेको तीन दलको बैठकमा सत्ता समीकरणमा कसरी सहकार्य गरेर अगाडि जाने भन्ने विषयमै छलफल हुने उनको भनाइ थियो । ‘विकल्पका रूपमा तीन शक्ति छन्, जुन असंवैधानिक कदमविरुद्ध खडा भयो,’ उनले भने, ‘ती शक्तिहरूका बीचमा समन्वय र सहकार्य हुनु आवश्यक छ, सोही सहकार्यअनुसार अगाडि बढ्नुपर्छ ।’
नेता यादवले जसपाले सरकारमा जाने विषयलाई भने त्यति धेरै प्राथमिकता नदिएको स्पष्ट पारे । आफूले राखेका माग र उठाएका मुद्दाहरू नै आफ्नो पार्टीको प्राथमिकता रहेको उनले जनाए ।
आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा फिर्ता लिनुपर्ने, जेलमा राखिएकालाई बाहिर निकाल्नुपर्ने, आन्दोलनमा घाइते भएकाहरुको क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनमा प्राण त्यागेकाहरुलाई सहिद घोषणा गर्नुपर्नेलगायत माग आफ्नो पार्टीले राख्दै आएको उनले बताए।
विगतदेखि आजसम्म जसपाले आफ्ना माग र मुद्दालाई प्राथमिकता दिएको उनले बताए ।
‘नयाँ सत्ता गठबन्धनको नेतृत्व कसको हुने भन्ने पछिको कुरा हो, जोसँग सबै कुरा मिल्छ, समर्थन र सहकार्य उही शक्तिसँग हुन्छ’ उनले भने ।

