भारतमा एक नेपालीको हत्या
बैतडी, जेठ २५ : भारतमा एक नेपालीको हत्या भएको छ। बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्दको भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा हत्या....
बैतडी, जेठ २५ : भारतमा एक नेपालीको हत्या भएको छ। बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्दको भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा हत्या भएको हो।
जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ।
चन्द भारतमा मजदूरी गर्दै आएका थिए। हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ। मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए। टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको नीरजले प्रहरीसुँगको बयानमा भनेका छन्।
चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ। घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





