प्राविधिक विद्यालयमा एक सातादेखि तालाबन्दी
बझाङ, चैत २३ : दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन्।चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले...
बझाङ, चैत २३ : दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन्।
चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन्।
विद्यालयले लामो समयसम्म आईएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन्।
विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ।
पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ। विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ। आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्ययनरत छन्।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको बताए। साथै विद्यार्थीले पनि जानकारीबिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दाबीचमा चार÷पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको उनले जानकारी दिए।












