Kathmandu Press

अस्ट्रेलियाका जंगलमा लोपोन्मुख छैनन् रैथाने शिकारी कुकुर

अस्ट्रेलियाका जंगलमा शुद्ध डिंगो वा क्यानाइन प्रजातिका कुकुर प्रशस्त पाइएको छ । नयाँ अध्ययनअनुसार जंगली कुकुरको डीएनए परीक्षण क्रममा अधिकांश जंगली कुकुर रैथाने...
अस्ट्रेलियाका जंगलमा लोपोन्मुख छैनन् रैथाने शिकारी कुकुर

अस्ट्रेलियाका जंगलमा शुद्ध डिंगो वा क्यानाइन प्रजातिका कुकुर प्रशस्त पाइएको छ । नयाँ अध्ययनअनुसार जंगली कुकुरको डीएनए परीक्षण क्रममा अधिकांश जंगली कुकुर रैथाने प्रजातिका रहेको पाइएको छ ।

शोधकर्ताहरूले अस्ट्रेलियाभर पाँच हजार ३९ जंगली कुकुरको डीएनए परीक्षण गरेका थिए । त्यसमा करिब दुई प्रतिशत मात्र फेरल अर्थात् हाइब्रिड प्रजातिका रहेको परीक्षणमा खुलेको छ ।

अस्ट्रेलियामा पछिल्ला वर्षमा हाइब्रिड कुकुरको बढ्दो संख्यालाई लिएर चिन्ता व्यक्त हुँदै आएको छ । र, रैथाने जनावरको संरक्षण गर्नुपर्ने आवाज बढ्दो छ ।

Hardik ivf

‘अस्ट्रेलियामा फेरल कुकुरको समस्या नरहेको पत्ता लागेको छ । तिनीहरू जंगली कुकुरसँग बस्न सक्दैनन्,’ न्यू साउथ वेल्स विश्वविद्यालयका जीव वैज्ञानिक काइली केन्र्ज भन्छिन्, ‘कहिलेकाहिँ हाइब्रिड प्रजातिका कुकुर झाडीमा जान सक्छन्, तर त्यसले डिंगो प्रजातिको संख्या घटबढ हुने कुरामा महत्त्व राख्दैन ।’

अध्ययनमा परीक्षण गरिएका ३३.७ प्रतिशत शुद्ध डिंगो प्रजातिका थिए । यस्तै, ३०.४ प्रतिशत सम्भावित डिंगो प्रजातिका थिए भने ३४.७ प्रतिशत क्यानाइन प्रजातिका थिए । परीक्षण गरिएका ५० देखि ७५ प्रतिशत कुकुरमा डिंगो प्रजातिको पुख्र्यौली गुण पाइएको थियो ।

‘जंगली कुकुर’ शब्दावलीले वास्तविकतालाई ठीक उल्टो अर्थ लगाउने शोधकर्ताहरूको भनाइ छ । पछिल्लो शोधअनुसार अस्ट्रेलियाका अधिकांश नागरिक जंगली कुकुरहरू डिंगो प्रजातिका भएको विश्वास गर्छन् । परीक्षणले पनि त्यसैलाई पुष्टि गरेको छ ।

डिंगो प्रजातिका कुकुरलाई तगडा शिकारी मानिन्छ । अस्ट्रेलियाको वातावरणीय सन्तुलनमा यी कुकुरको भूमिका रहने मानिन्छ । खासगरी, घाँसे मैदानमा लुक्ने जंगली बिराला र ब्वाँसाको शिकार गर्न यो प्रजातिका कुकुर माहिर मानिन्छन् ।

जीव वैज्ञानिक काइली केन्र्जका अनुसार डिंगो प्रजातिका कुकुर अस्ट्रेलियाका रैथाने जनावर हुन् । रैथाने प्रजातिका जनावरको संख्यामाथि नियन्त्रण गर्न नहुने अस्ट्रेलियाका नागरिकले बताउँदै आएका छन् ।

यो अध्ययनका लागि डिंगो संरक्षण संस्थाले लगानी गरेको थियो । अध्ययनबाट डिंगो प्रजातिका जंगली कुकुर लोप हुने चरणमा रहेको भन्ने धारणालाई गलत सावित भएको छ ।

अस्ट्रेलियाको ठूलो आवादी रहेको दक्षिणपूर्वी भागमा डिंगोलगायत कुकुरका विभिन्न प्रजातिबाट हाइब्रिड जात उत्पादन गर्ने गरिएको छ । त्यस क्षेत्रमा युरोपेली आवादीको ऐतिहासिक प्रभाव छ । तर, न्यू साउथ वेल्स, भिक्टोरिया र दक्षिणी क्विन्सल्यान्ड राज्यमा ‘जंगली कुकुर’ व्यवस्थापन नीति प्रभावकारी देखिएको छ ।

नियन्त्रण गर्ने प्रयासका बावजुद जंगली कुकुरको डिंगो प्रजातिको जनसंख्या उल्लेख्य पाइनुलाई शोधकर्ताहरूले सुखद् भनेका छन् ।

‘अस्ट्रेलियामा निजी र सार्वजनिक स्थलमा डिंगो संरक्षणसम्बन्धी सार्वजनिक संलग्नता र बहसको कमीले कृषि उद्योगका प्राथमिकतालाई सरकारी नीति र डिंगो व्यवस्थापनसम्बन्धी निर्णयमा प्रभाव पारेको देखिन्छ,’ शोधकर्ताहरूले भनेका छन् ।

- साइन्स अर्लट डटकमबाट
 

प्रकाशित मिति: ०६:३७ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्