Kathmandu Press

मन्त्री हिँड्ने बाटोमा मरेको कुकुर

काठमाडौं, २२ जेठ : काठमाडौं र भक्तपुरको सीमा भई बग्ने मनोहरा खोलामाथिको पुल हुँदै दैनिक हजारौं गाडी ओहोर–दोहोर गर्छन्। बालकोट बस्ने सूचना त....

https://www.youtube.com/watch?v=x9qXvjZC7lU

काठमाडौं, २२ जेठ : काठमाडौं र भक्तपुरको सीमा भई बग्ने मनोहरा खोलामाथिको पुल हुँदै दैनिक हजारौं गाडी ओहोर–दोहोर गर्छन्। बालकोट बस्ने सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको पनि सिंहदरबार आउने–घर फर्किने बाटो यही हो। 

यही पुलमाथि कुनै गाडीको ठक्करले मरेको एउटा कालो कुकुरको लाश चार दिनदेखि कुहिँदैछ। बुधबार दिउँसो पानी पर्दासमेत लाश गन्हाउन छोडेको थिएन। जडीबुटीको जाममा पर्ने मोटरसाइकल यात्री र सडक किनार पसल गर्ने मानिसहरू नाक छोपिरहेका थिए। बटुवाहरू पनि नाक–मुख थुनेर कुकुर नाघ्दै हिँडिरहेका थिए।

बुधबार बटुवाहरू पनि नाक–मुख थुनेर कुकुर नाघ्दै हिँडिरहेका थिए। तस्वीरः रिवाज राई

कुकुरको लाश गन्हाएर रोग फैलिने खतरा बढ्दा पनि किन कसैले चासो देखाउँदैन? काठमाडौं प्रेसले यो प्रश्न मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीलाई सोधेको थियो। सुरुमा उनले जडीबुटीको पुलको आधा भागमात्रै मध्यपुर थिमी नगरपालिकाको क्षेत्रमा पर्ने भन्दै पन्छिन खोजिन्।   

मध्यपुर थिमी क्षेत्रमै कुकुर रहेको थाहा निश्चित भएपछि उनले भनिन्, ‘कहाँ के फोहोर छ भन्ने हामीलाई थाहा हुँदैन। स्थानीयले खबर गर्‍यो भने हाम्रो सामुदायिक शाखाले फोहोर व्यवस्थापन गर्छ।’

त्यसपछि काठमाडौं प्रेसले थिमी नगरपालिकाका सामुदायिक शाखा प्रमुख तुलसी भक्त टकोलाई सम्पर्क गर्‍यो।

उनले आफको शाखाको काम पाटी–पौवा र चोक सफा गर्ने मात्रै रहेको बताए। पुल मध्यपुर थिमी नगरपालिकाभित्रै परे पनि त्यो ठाउँमा निजी क्षेत्रका कर्मचारीहरूले सरसफाइ गर्नुपर्ने उनले बताए। 

उनी भन्छन्, ‘त्यो ठाउँमा सरसफाइ गर्ने नगपालिकाका कर्मचारी पुग्दैनन्। सार्वजनिक ठाउँमा कुनै जनावर मरेको देख्यो भने त्यसलाई व्यावस्थापन गर्ने जिम्मा हरेक सचेत नागरिकको हो।’

बुधबार बटुवाहरू पनि नाक–मुख थुनेर कुकुर नाघ्दै हिँडिरहेका थिए। तस्वीरः रिवाज राई


 

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, जेठ २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्