Kathmandu Press

वाईसीएल अब सैन्य फर्मेसनमा हुँदैन : दीपशिखा

‘सबै राजनीतिक दलका युवा संगठन छन्, वाईसीएल पनि माओवादी केन्द्रको युवा संगठनको रूपमा पुनःस्थापित भएको हो,’ उनी भन्छन्, ‘कांग्रेसको तरुण दल, एमालेको युवा संघ भएजस्तै वाईसीएल माओवादी केन्द्रको युवा संगठन हो।’
वाईसीएल अब सैन्य फर्मेसनमा हुँदैन : दीपशिखा

काठमाडौं, चैत १४ : तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठनपछि निश्क्रिय बनेको योङ कम्युनिस्ट लिग (वाईसीएल) पुनर्जीवित बन्दैछ। आगामी जेठ अन्तिम साता राष्‍ट्रिय भेलामार्फत वाईसीएललाई पुनर्जीवन दिने तयारीमा माओवादी केन्द्र छ।

३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि वाईसीएल युवा संघमा समाहित भएको थियो। २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अलग पार्टी भएको फैसला दिएपछि दुवै दल आ-आफ्ना भातृ संगठन ब्युँताउन लागिपरेका छन्। सोहीअनुसार वाईसीएलले पनि पुनर्जीवन पाउन लागेको हो।

वाईसीएल ब्युँतिनु नौलो विषय नभएको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ बताउँछन्। सर्वोच्चको फैसलापछि माओवादी केन्द्रका भातृ संगठनहरू पुनःस्थापित भएको उनको भनाइ छ। ‘छुट्टै, भिन्‍नै र फरक संगठन बनाइएको होइन, वाईसीएल हिजो पनि थियो,’ उनी भन्छन्, ‘माओवादी केन्द्र पुनःस्थापित भएसँगै वाईसीएल पनि पुनःस्थापित भएको हो।’

Hardik ivf

८ चैतमा सम्पन्‍न संगठनको चौथो पूर्ण बैठकले एक सय ६१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। वाईसीएलका संगठन संरचना चुस्त बनाउने उद्देश्य रहेको दीपशिखा बताउँछन्। भन्छन्, ‘संरचनात्मक हिसाबले भद्रगोल कमिटीभन्दा सानो र व्यवस्थित रूपमा काम गर्ने केन्द्रीय कमिटी बनाएका छौँ।’

संगठनात्मक सुदृढीकरणका लागि तीनमहिने (चैत, वैशाख, जेठ) योजना वाईसीएलले घोषणा गरेको छ। ‘चैत महिनाभरि सदस्यता नवीकरण गर्ने र एक लाख ६५ हजार नयाँ सदस्य थप्‍ने योजनामा छौँ,’ उनी भन्छन्।

यस्तै, वैशाखभित्र स्थानीयदेखि जिल्ला तह र जेठभित्र प्रदेशदेखि केन्द्रसम्मका भेला सम्पन्‍न गर्ने वाईसीएलको तयारी छ। २८-३० जेठमा काठमाडौंमा वाईसीएलको राष्‍ट्रिय भेला तय भएको छ। तल्लो तहदेखि सुरु गरेर केन्द्रसम्मका संगठन संरचनाहरू पुनर्गठित गर्ने योजना वाईसीएलको छ।

जब तत्कालीन विद्रोही माओवादी शान्तिप्रक्रियामा आयो, ‘जनसेना’ मात्र नभई वाईसीएल पनि साथमा लिएर आयो। माओवादीको सैन्य संगठनका रूपमा चित्रित गर्दै राष्‍ट्रिय मात्र नभई अन्तर्राष्‍ट्रियस्तरमा पनि वाईसीएलको आलोचना भयो। पटक-पटक वाईसीएल विघटनको माग भइरह्यो। अहिले पनि वाईसीएल ब्युँतिँदा कोही भयभित हुनु नपर्ने दीपशिखा बताउँछन्।

‘सबै राजनीतिक दलका युवा संगठन छन्, वाईसीएल पनि माओवादी केन्द्रको युवा संगठनको रूपमा पुनःस्थापित भएको हो,’ उनी भन्छन्, ‘कांग्रेसको तरुण दल, एमालेको युवा संघ भएजस्तै वाईसीएल माओवादी केन्द्रको युवा संगठन हो।’

वाईसीएलले गरेका संघर्षपूर्ण गतिविधिका कारण अन्य दलका संगठनभन्दा वाईसीएलको बारेमा बढी चर्चा भएको उनको ठम्याइ छ। ‘वाईसीएल लडाईं या भिडन्त गर्न बनाइएको फोर्स होइन, अन्यायमा परेकालाई न्याय दिलाउने, विकृति र विसंगति र भ्रष्‍टाचारविरुद्ध लड्ने संगठन हो,’ दीपशिखा भन्छन्, ‘वाईसीएलले हिंसात्मक गतिविधि गर्ने भ्रम जनमानसमा फैलाउने काम अन्य राजनीतिक दल र केही पूर्वाग्रही व्यक्तिहरूबाट भएको हो।’

वाईसीएल सैन्य फर्मेसनमा जान्छ कि जाँदैन भनेर चिन्तित हुन आवश्यक नरहेको उनी प्रष्‍ट्याउँछन्। ‘वाईसीएल पूर्ण रूपमा युवा संगठन हो, अन्य राजनीतिक दलहरूको जस्तै पूर्ण राजनीतिक संगठन हो,’ उनी भन्छन्, ‘हिजो संघर्षमा थियौँ, संगठनले संघर्षकै काम गर्‍यो, अहिले निर्माणमा छौँ, निर्माणकै काम गर्ने सिद्धान्तबाट अगाडि बढ्ने हो।’

विगतमा सामाजिक सुधारका काममा आफूलाई केन्द्रित गर्दै वाईसीएलले विकृति, विसंगति र भ्रष्‍टाचारविरुद्ध संघर्ष गरेको दीपशिखा बताउँछन्। ‘मुलतः माओवादी केन्द्रको युवा संगठन भएकाले राजनीतिक क्षेत्रमा संगठन विस्तार र सुदृढीकरणका निम्ति काम गर्छौँ,’ उनी भन्छन्, ‘विभिन्‍न सामाजिक मुद्दा उठाउँछौँ, युवा बेरोजगारी, विदेश पलायन, म्यानपावरको ठगीलगायत क्षेत्रमा पनि हामी काम गर्छौँ। अन्यायमा परेका युवाको पक्षमा बोल्छौँ र सरकारलाई झक्झक्याउँछौँ।’
 

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्