जगात दिएर हर्षोल्लाससाथ ‘इद उलफित्र’ मनाइँदै
काठमाडौं, जेठ २२ : इस्लाम धर्मावलम्बीको महान पर्व ‘इद उलफित्र’ आज देशभर हर्षोल्लाससाथ मनाइँदै छ। यो पर्वमा आफ्नो आम्दानीको केही प्रतिशत दा....
काठमाडौं, जेठ २२ : इस्लाम धर्मावलम्बीको महान पर्व ‘इद उलफित्र’ आज देशभर हर्षोल्लाससाथ मनाइँदै छ। यो पर्वमा आफ्नो आम्दानीको केही प्रतिशत दान दिने गरिन्छ।
अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उलफित्र तय गरिन्छ। याे दशौँ महिनाको पहिलो दिन मनाउने गरिन्छ।
नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ। त्यस्तै, गरिबलाई दान दिएर ईद उलफित्र मनाइन्छ। यसरी दिइने दानलाई जगात भनिन्छ।
एक महिना रमजान बस्दा वर्षभरि गरिएका पापबाट मुक्त हुने जनविश्वास छ।
काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा आज बिहानैदेखि इस्लाम धर्मालम्बीको घुइचो लागेको छ।
बिहानै नमाज पढ्न जामे मस्जिद पुगेका मोहम्मद अफदलले आजकाे दिन सेवाइ र विशेष खजुर पकाएर खाने गरेको बताए। ‘आज परिवारसँग खुशी साटासाट गरिन्छ,’ उनले भने।
आजको दिन आफू खाएरभन्दा पनि अरुलाई दान दिएर खुशीयाली मनाउने गरिन्छ। नवाज पढेपछि गरिब, दीन दुःखीलाई दान दिने गरेको मोहम्मद मुस्तफाले बताए।
‘आजको दिन नमाज पढेर गरिब दु:खीलाई पैसा, खाना, कपडा दान गर्छौं। दान गरेपछि स्वर्गमा जाने विश्वास छ,’ नमाज पढ्न जामे मस्जिद पुगेका मुस्तफाले भने, ‘आजको दिन मीठो खानेकुरा खाएरभन्दा पनि दान दिएर खुशी मनाउछौं।’
यो दिन मुस्लिम समुदायमा जगात (दान) दिने चलन छ। ‘आफूसँग भएको धनसम्पत्तिको २.५ प्रतिशत गरिबलाई दान दिनुपर्छ भन्ने मान्यता छ,’ क्यूएफएक्स चेनका संचालक नकिम उद्दिमले भने। आफूले राम्रो लाएर तथा मीठो खाएरभन्दा पनि अरुलाई दान दिएर यो पर्व मनाउने गरिएको उनले बताए।
यो पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ।
त्यस्तै, इद उलफित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तिहरूले शुभकामना दिएका छन्।












-(7)-1765197040.jpg)