Kathmandu Press

के गर्दैछ विप्लव समूह ?

२१ फागुनदेखि खुला राजनीतिमा आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा आन्तरिक गतिविधिमा व्यस्त, केन्द्रीय कमिटी बैठकपछि मात्र अन्य राजनीतिक दलसँग संवाद अगाडि बढाउने तयारीमा।
के गर्दैछ विप्लव समूह ?

काठमाडौं, चैत १०: नेकपा महासचिव नेत्रबिक्रम चन्दले ९ चैतमा बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग भेटे। त्यसको उद्देश्य थियो, १८ दिन बितिसक्दा पनि जेलमा रहेका उक्त पार्टीका नेताहरू नछुट्नु। तथापि, उक्त पार्टीका नेता दीपकले भेटघाट सकारात्मक रहेको बताएका छन्।

‘राज्यसँग सहमति भएकाले हाम्रो पार्टीका नेता-कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने विषय राज्यले मिलाउने आशा छ,’ दीपकले भने, ‘मुद्दा फिर्ता गरी साथीहरूलाई रिहा गर्नु राज्यको दायित्व हो। यस विषयमा राज्यलाई गम्भीर र सकारात्मक पाएका छौँ।’

Hardik ivf

२८ फागुन ०७५ मा उक्त पार्टीमाथि सरकारले प्रतिबन्ध घोषणा गरेको थियो, जुन २० फागुनमा हटाइयो। २१ फागुनमा पार्टी महासचिव विप्लव राष्ट्रिय सभागृहमा सार्वजनिक भए।

प्रतिबन्धयता पक्राउ परेका उक्त पार्टीका नेता-कार्यकर्ताको रिहाइबारे सरकारसँग छलफल जारी रहेको दीपक बताउँछन्। २० फागुनमा सरकारसँग भएको तीनबुँदे सहमतिको एक मुख्य बुँदा पनि त्यही हो।

नेता दीपकका अनुसार अहिले नेकपा पार्टीका नियमित कार्यक्रममा व्यस्त छ। त्यो भनेको जनतासँग भेटघाट, संगठनहरूको विस्तार, राजनीतिक अन्तरक्रियालगायत हुन्। यस्ता कार्यक्रमलाई देशव्यापी बनाइरहेको उनले बताए।

‘पार्टीभित्रको आन्तरिक छलफल र कुराकानीमा छौँ,’ उनले भने, ‘ठूलो संख्यामा मास परिचालनका कार्र्यक्रम गरेका छैनौँ।’ पार्टी केन्द्रीय कमिटी बैठकपछि अन्य राजनीतिक पार्टीसँग संवाद र सहकार्य अगाडि बढाउने योजनामा रहेको उनी बताउँछन्। भन्छन्, ‘केन्द्रीय कमिटी बैठकपछि कसरी अगाडि बढ्ने भन्‍ने नीति तय गर्छौँ, सोहीअनुरूप अन्य पार्टीहरूसँग कसरी जाने भन्‍ने निर्क्योल निकाल्छौँ।’

त्यसपछि जनपरिचालनका कार्यक्रम अगाडि बढाइने उनी बताउँछन्। भन्छन्, ‘अहिलेको राजनीतिक संक्रमण र संकट समाधानका लागि जनमत संग्रह प्रस्ताव गरेका छौँ। सोही प्रस्तावउपर बहस गरौँ, अहिलेको व्यवस्थामाथि नै बहस गरौँ, राज्य प्रणालीकै विषयमा छलफल चलाऊँ भन्‍ने प्रस्ताव गरेका छौँ।’

कांग्रेस, एमाले, माओवादी, जसपालगायत सबै पार्टीसँग संवाद गर्ने तयारीमा रहेको उनले जानकारी दिए। केन्द्रीय कमिटी बैठकअघि अन्य दलका नेताहरूसँग औपचारिक भेटवार्ता सम्भव नभएको उनले बताए। ‘त्यसैले केन्द्रीय कमिटी बैठकको तयारीमा छौँ,’ उनले भने।
 

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्