Kathmandu Press

भरतपुर सबस्टेशनको क्षमता बढाइयो

भरतपुर सबस्टेशनको क्षमता बढाइयो

चितवन, चैत १० : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । शनिबार र आइतबार विद्युत कटौती गरेर क्षमता वृद्धि गरिएको हो ।

इनकमर र बक्स कपुलर परिवर्तन गरी क्षमता बढाइएको भरतपुर वितरण केन्द्रका इञ्जिनीयर विनोद सापकोटाले जानकारी दिए । आठ सय एम्पियर क्षमतालाई बढाएर एक हजार पाँच सय बनाइएको उनले बताए ।

Hardik ivf

सबस्टेशनमा सर्वसाधारणका लागि नौवटा र कोकाकोला कम्पनीका लागि एउटा छुट्टै गरी जम्मा १० फिडर रहेका छन् । उक्त फिडरका लागि दुईवटा इनकमर छन् ।

एउटा इनकमरमा ओभरलोड भएर ट्रिप हुनेबित्तिकै पाँचवटा फिडरको विद्युत् काटिन्थ्यो । आधा जिल्लाभर विद्युत् कटौती हुने गर्दथ्यो । अब त्यो समस्या नहुने भरतपुर वितरण केन्द्रले जनाएको छ।

‘अहिले नै आठ सय एम्पियरको रेन्जमा करेन्ट पुगिसकेको अवस्था छ । त्यसैले गर्मीयाममा नौ सय एम्पियरसम्म करेन्ट पुग्ने अवस्था थियो । यो क्षमताले कुनै पनि हालतमा थेग्न सक्ने अवस्था थिएन’, इञ्जिनीयर विनोद सापकोटाले भने ।

अब क्षमता बढाएपछि गर्मीयाममा ओभरलोड भएर विद्युत् कटौती हुने समस्या नआउने सापकोटाको भनाइ छ । भरतपुर सबस्टेशन चितवनको मुख्य र ठूलो सबस्टेशन हो । यहाँ ट्रान्समिसनको लाइनलाई ल्याएर कम भोल्टेज बनाई अन्य सहायक सबस्टेशनमा पठाइन्छ । माडी, चनौली र टाँडीमा सहायक सबस्टेशन रहेका छन् ।

प्रकाशित मिति: १०:५२ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्