झापामा ४५ हजारभन्दा बढीले लगाए काेराेना खोप
झापा, चैत ८ : झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।जिल्लाका आठ नगरपालिका र सात गाउँपालिकामा पहिलो चरणको खोप लगाउनेको...
झापा, चैत ८ : झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।
जिल्लाका आठ नगरपालिका र सात गाउँपालिकामा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत चूडामणि लुइँटेलले बताए। सरकारले कोभिशिल्ड खोप निःशुल्क प्रदान गर्दै आएको छ।
दमक नगरपालिकाका ५ हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २०० ले मात्र खोप लगाएका छन् । शिवसताक्षी नगरपालिकाका ४ हजार ७४९ ले, गौरादह नगरपालिकाका ४ हजार ६५३ ले, बिर्तामोड नगरपालिकाका ३ हजार ७७३ ले, कनकाई नगरपालिकाका ३ हजार ४९९ ले, कमल गाउँपालिकाका ३ हजार २४८ ले र भद्रपुर नगरपालिकाका ३ हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन्।
यसैगरी मेचीनगर नगरपालिकाका २ हजार ८५४ ले, अर्जुनधारा नगरपालिकाका २ हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका २ हजार ४५१ ले, कचनकवल गाउँपालिकाका २ हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका २ हजार १ ले, झापा गाउँपालिकाका १ हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका १ हजार ७ सय ९ ले र बाह्रदशी गाउँपालिकाका १ हजार २ सयले उक्त खोप लगाइसकेका छन्।
गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए।












