३० औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा
काठमाडौं, जेठ २० : काठमाडौंमा हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६&rsq....

काठमाडौं, जेठ २० : काठमाडौंमा हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पूरा भएको छ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डमा हुने प्रदर्शनीको तयारी पूरा भएको आयोजकले जनाएको छ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको जानकारी दिए।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको भएता पनि आर्थिक वर्ष २०७४-७५ सम्मको तथ्याङ्क हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरुको संख्या तीन लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ रहेको जानकारी दिए।
विभिन्न तथ्यहरु हेर्दा लघु घरेलु तथा साना उद्योगको उत्पादनको विविधिकरण र प्रवद्र्घनबिना स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव नदेखिएको भन्दै अध्यक्ष गिरीले स्वदेशी वस्तुको उत्पादन बढाएर रोजगारका अवसरसमेत सिर्जना गर्नु पर्नेमा जोड दिए।
प्रदर्शनीमा जम्मा २०० लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन्। जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चितता गरिएको छ। प्रदर्शनीको १ लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोडभन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।
प्रदर्शनी आयोजना गर्नमा घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसाय महासंघ र राष्ट्रिय लघु उद्यमी महासंघसँग सहकार्य गरिएको छ।










-1754206481.jpg)
