८० प्रतिशत निजी आवास पुनःनिर्माण
वाग्मती, फागुन २८ : मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा...वाग्मती, फागुन २८ : मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।
नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्ताबापतको अनुदान रकम बुझिसकेका नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए। नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेको थियो । तीमध्ये ६ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए ।
१२ वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएको नगरपालिकाका प्रमुख विष्टले जानकारी दिए। सो वडामा ९२ प्रतिशत निजी आवास पुनःनिर्माण सकिएको छ ।
त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम वडा नं ४ मा भएको छ । सो वडामा ५७ प्रतिशतमात्र निजी आवासको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।
नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले जनाएको छ ।