Kathmandu Press

पृथ्वीमा पिउन योग्य पानीमा मानिसको नियन्त्रण

संसारभर अकल्पनीय अनुपातमा शासन परिवर्तन भइरहेको छ । पृथ्वीको सबैभन्दा महत्वपूर्ण स्रोतमध्ये एकमा मानिसको विशाल र बढ्दो प्रभुत्व झल्किन्छ, त्यो भनेको पिउनयोग्उ पानी...
पृथ्वीमा पिउन योग्य पानीमा मानिसको नियन्त्रण

संसारभर अकल्पनीय अनुपातमा शासन परिवर्तन भइरहेको छ । पृथ्वीको सबैभन्दा महत्वपूर्ण स्रोतमध्ये एकमा मानिसको विशाल र बढ्दो प्रभुत्व झल्किन्छ, त्यो भनेको पिउनयोग्उ पानी हो ।

अनुसन्धानकर्ताहरूका अनुसार जल चक्रमा मानव प्रभावको पहिलोपटक विश्वव्यापी सर्वेक्षण गरिएको छ । वैज्ञानिकहरूले पानीको सतहमा उल्लेखनीय परिमाणमा भएको परिवर्तनलाई टाढाबाट मापन गर्न नासाको उपग्रह प्रयोग गरेका थिए । त्यसबाट विश्वको दुई लाख २७ हजार तीन सय ८६ साना–ठूला पोखरी, ताल, जलाशयको सतहमा भएको जल परिवर्तनलाई मापन गरिएको हो ।

मानव निर्मित जलाशय र कृत्रिम बाँधहरूमा यस विशाल ग्रहमापन प्रणालीले सतहस्तरको पानी भण्डारण केवल तीन दशमलव नौ प्रतिशत देखिएको छ । यो सानो अंशले पिउनयोग्य पानीको उतारचढावमा वास्तवमा मानिसले कति नियन्त्रण गर्ने कोशिस गरिरहेका छन् अनौठो तथ्य सामुन्ने ल्याएको छ ।

Hardik ivf

प्राकृतिक र मानिसद्वारा सञ्चालित दुवै प्रणालीको पानीको स्तरमा समग्र परिवर्तनको मात्रा गणना गर्दा मानव नियन्त्रित जलाशयको सबै पानी परिवर्तनशीलताको ५७ प्रतिशत देखिएको छ ।

‘हामी पानीको चक्रलाई प्राकृतिक प्रणालीका रूपमा सोच्ने गर्छौँ । वर्षा र पग्लिएको हिउँ नदीमा मिसिएर बग्छ । त्यो समुद्रमा मिसिएर बग्छ, जहाँ बाफले फेरि नयाँ चक्र सुरु गर्छ,’ स्ट्यान्फोर्ड विश्वविद्यालयका जियोफिजिस्ट सारा कुली भन्छिन्, ‘तर, मानिसले त्यस चक्रमा वास्तवमै ठूलो हस्तक्षेप गरिरहेका छन् । पृथ्वीको अधिकांश मौसमी सतहको पानी भण्डारण परिवर्तनशीलताका लागि मानव जिम्मेवार रहेको देखिन्छ ।’

अध्ययनका क्रममा नासाको आइस, क्लाउड एन्ड ल्यान्ड एलिभेसन स्याटेलाइट–२ (आइसस्याट–२) द्वारा संकलन गरिएको २२ महिनाको तथ्यांकको नतिजा प्रयोग गरिएको थियो । त्यसबाट संसारभर पानी भण्डारणको तस्बिर प्राप्त भएको छ । यसले जलस्रोतको तस्बिरलाई सानो फुटबल मैदानजत्तिकै मापन गरी खिचेको छ ।

अवश्य पनि मानव निर्मित र सञ्चालित जलशायका अन्य सकारात्मक पक्ष छन् । पानी आपूर्तिको नियन्त्रण गर्नेबाहेक तिनले जलविद्युत प्रणालीलाई सक्षम बनाएका छन् । मानव निर्मित बाँधले बाढीबाट सुरक्षा प्रदान गर्न सक्छ ।

अर्कोतर्फ मानिसले आफूवरपरको वातावरणमा कति प्रभाव पारिरहेका छौँ भन्ने तथ्य पनि यस अध्ययनबाट सार्वजनिक भएको छ । मानवीय हस्तक्षेपका परिणाम असाध्यै विशाल छन्, जसलाई केवल अन्तरिक्षबाट हेर्न सकिन्छ ।

‘पृथ्वीको पिउनयोग्य पानीको स्रोतमा देखिएको परिवर्तनमा बाढी, खडेरी र पग्लिएको हिउँको भूमिका देखिन्छ । यसले तालको पानीको स्तरलाई बढाउने र घटाउने गर्छ,’ ब्राउन विश्वविद्यालयकी वातावरणीय वैज्ञानिक लरेन्स स्मिथ भन्छिन्, ‘मानिसले लगभग ६० प्रतिशत परिवर्तनशीलतामाथि हस्तक्षेप गरेको छ । त्यो पानी चक्रमा ठूलो प्रभाव हो । यस ग्रहमा मानवीय प्रभावको हिसाबले भूमि र वायुमन्डलीय समीकरणका असरहरू त्यहीँ छन् ।’

साइन्स एलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०६:१५ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्