जब विप्लव राष्ट्रिय सभागृहमा प्रकट भए
स्टेजनजिकको ढोकाबाट प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लव एकसाथ मञ्चमा प्रवेश गरे। सभाहलमा उपस्थित सबैले तालीले स्वागत गरे। स्टेजमा उक्लेर प्रधानमन्त्री ओलीले विप्लवको हात समातेर अभिवादन गरेपछि सभाहलमा गुन्जियो, ‘विप्लव हाई, हाई’।.jpg)
काठमाडाैं, फागुन २१ : काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि केही पहिलेदेखि नै तैनाथ थियो, प्रहरी टोली। शुक्रबार त्यस क्षेत्रको वातावरण अरू दिनभन्दा फरक थियो। कारण- प्रदर्शनीमार्गमै रहेको सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम दिउँसो दुई बजेलाई तय भएको थियो। कार्यक्रम सुरु हुन केही ढिलो भयो तर एक-डेढ घण्टा अघिदेखि नै त्यो समारोहको झलक हेर्न प्रदर्शनीमार्गमा युवापंक्तिको बाक्लो उपस्थिति थियो। उनीहरू सभागृहको चौरमा गफिँदै थिए।
मानिसको भीड बढ्दै गर्दा रातो टिसर्ट लगाएका एक हुल युवा सभाहलको गेटदेखि नारा लगाउँदै दगुर्दै सभाहलको फन्को मार्दै थिए। मानिसमा बेग्लै उत्सुकता देखिन्थ्यो। मानिसका मनमा उठेका अनेक प्रश्नहरू अनुहारमा देख्न सकिन्थ्यो। सभाहल भरिभराउ थियो। सहभागीहरू मुख्यतः विप्लवको पर्खाइमा देखिन्थे। कार्यक्रमको मञ्चबाट उद्घोषक तथा प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले माइक सम्हालेपछि तालीको गडगडाहट सुनियो। उनले भने- प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव विप्लव केहीबेरभित्रै सभाहलमा प्रवेश गर्दै हुनुहुन्छ।
स्टेजनजिकको ढोकाबाट प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लव एकसाथ मञ्चमा प्रवेश गरे। सभाहलमा उपस्थित सबैले तालीले स्वागत गरे। स्टेजमा उक्लेर प्रधानमन्त्री ओलीले विप्लवको हात समातेर अभिवादन गरेपछि सभाहलमा गुन्जियो, ‘विप्लव हाई, हाई’। प्रधानमन्त्री र विप्लव एकसाथ मञ्चमा जाँदै गरेको र मञ्चमा पुगेर अभिवादन गर्दै गरेको दृश्य मोबाइल क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे, उपस्थित सहभागीहरू।
पसिनाले पुछिएको जस्तो देखिने रातो अबिरको टीका लगाएका विप्लवले कालो कोट पहिरेका थिए। तर, उनको मुहारमा त्यति उत्साह देखिँदैनथ्यो। अनुहारमा केही नैराश्यता छर्लंग देख्न सकिन्थ्यो। त्यसविपरीत प्रधानमन्त्री ओली भने हर्षित देखिन्थे।
मञ्चबाट विप्लव समूहका केन्द्रीय सदस्य दीपकले स्वागत मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री ओलीले थर्मसबाट पानी पिए। विप्लवसँग भएको तीनबुँदे सहमतिबाट खुसी दिएको उनको अनुहारको भावबाट झल्किन्थ्यो। सरकारी वार्ता टोली संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल र सदस्य डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, सदस्य दीपक मात्र होइन, शुक्रबार नै जेलबाट छुटेर आएका विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला मञ्चमा आसिन थिए।
दुवैतर्फका वार्ता टोली संयोजक बादल र प्रकाण्डले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर औपचारिकता दिए। त्यसअघि उद्घोषक भट्टराईले त्यसमा उल्लेखित बेहोरा पढेर सुनाए-‘दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ। नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ। सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता-कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ।’
नेकपा महासचिव विप्लवले सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो मन्तव्य सुरु गरे। आफू सहिदको सपना पूरा गर्न, आत्मनिर्भर, स्वाधिन र सुन्दर नेपाल बनाउने उद्देश्यले विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिमा आएको प्रष्ट्याए। झापा आन्दोलनका क्रममा पञ्चायती सरकारले हत्या गरेका पाँच सहिदको स्मृति दिवसकै दिन आफूलाई शान्तिपूर्ण राजनीतिमा पदार्पण गर्ने अवसर प्राप्त भएको उल्लेख गरे।
‘सहिदको सपना पूरा भएको छैन, दुःख गरेर खाने नेपालीहरूको सपना पूरा भएको छैन,’ उनले भने, ‘दुःख नपाउने कम्युनिस्ट नेता छैनन्, मृत्युको नजिक पुगेर नफर्केको कम्युनिस्ट नेता पनि छैनन्। जे सपना देखेर कम्युनिस्ट आन्दोलनमा लाग्यौँ, सहिद परिवारलाई त्यो पूरा गर्छौँ भनेर विश्वास दिलाऔँ।’ भाषणमा उनले कसैलाई गाली गरेनन्। बरु, तीनबुँदे सहमति दृढतापूर्वक पालना गर्ने प्रतिबद्धता जनाए।