Kathmandu Press

अढाइ वर्षीय बालकको बलि: पुत्रवियोगको पीडाले बेलाबेलामा अचेत हुन्छिन् रेणु

काठमाडौं, १६ जेठ: आफूले जन्म दिएका सन्तानको माया कति लाग्छ? त्यो त जन्मदिने आमा–बाबुलाई जति सायदै अरु कसैलाई थाहा होला?

कहिलेकाही....

अढाइ वर्षीय बालकको बलि: पुत्रवियोगको पीडाले बेलाबेलामा अचेत हुन्छिन् रेणु

काठमाडौं, १६ जेठ: आफूले जन्म दिएका सन्तानको माया कति लाग्छ? त्यो त जन्मदिने आमा–बाबुलाई जति सायदै अरु कसैलाई थाहा होला?

कहिलेकाहीँ छोराछोरी आफूभन्दा टाढा रहँदा त आमाको मन हरेक क्षण आतिन्छ भने सन्तान वियोगको पीडामा आमाबाबुको मन झन् कसरी सम्हालिन्छ होला? त्यो क्षणको कल्पना सायदै गर्न सकिएला। 

यस्तै, पुत्रवियोगको पीडामा छिन् धनुषा मिथिला नगरपालिका–६ की रेणु साह।

Hardik ivf

रेणुका अढाइ वर्षीय नाबालक आर्यन अपहरणमा परेको भोलिपल्टै वैशाख २४ गते मृत फेला परेका थिए। त्यही दिनदेखि पुत्रवियोगको पीडामै छ साह परिवार। नाबालक छोराको आर्यनको हत्या भएदेखि नै  रेणु घरिघरी अचेत हुन्छिन्। 

काठमाडौं प्रेससँग बिहीबार टेलिफोनमा कुरा गर्दै रेणुले भनिन्, ‘मेरो छोरो घर–आँगनमै खेलिरहेको हुन्थ्यो, अहिले पनि यतै खेलिरहे जस्तो लाग्छ।’

त्यसपछि उनको गला अवरुद्ध भयो। केही बेर बोल्नै सकिनन्। एक छिनपछि आफूलाई सम्हाल्दै भनिन्, ‘म दुःखी हुँदा पनि छोरोले हसाउँथ्यो। उसलाई खसी काटे झैं काट्यो, कति दुख्यो होला!’

नाबालक छोरा आर्यनको छिमेकी ५५ वर्षीय शत्रुधन महतोले मन्त्र सिद्धिका लागि भन्दै बलि दिएको खुलासा झण्डै एक महिनापछि भएको छ। धामीझाँक्रीको काममा दखल बढाएर शक्तिशाली तान्त्रिक सिद्धिका लागि आर्यनलाई शत्रुधनले बलि दिएको स्वीकारेका छन्। प्रहरीले शत्रुधनलाई बिहीबारमात्रै सार्वजनिक गरेको छ।

मृतक बालककी आमा रेणु घाँस काट्न गएको बेला घरको ढोकामै खेलिरहेका बालकलाई महतोले अपहरण गरी बन्धक बनाएर वैशाख २३ गते राति २ बजे हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक शेखर खनाल बताउँछन्। आर्यनको हत्या गरिएको अवस्थामा अपहरणमा परेको भोलिपल्ट वैशाख २४ गते बिहान घरनजिकैको बाँसघारीमा शव भेटिएको थियो। 

कसरी परे बालक अपहरणमा?

वैशाख २३ गते गाउँमा छिमेकीको बिहे थियो। रेणुका सासु–ससुरालगायत परिवारका सबै सदस्य बिहेमा गएका थिए।

रेणुकी छोरी घरभित्र विद्यालयको गृहकार्य गरिरहेकी थिइन् भने आर्यन घरकै आँगनमा खेलिरहेका थिए। रेणु बाख्रालाई घाँस ल्याउन भन्दै घर नजिकैको बारीमा गइन्। आँगनमा खेल्दै गरेको आर्यन खेल्दा खेल्दै घरबाट पर पुगेको कसैलाई पत्तै भएन।

बिहेबाट रेणुका ससुरा पीताम्बर ४ बजेतिर घर फर्के। गाउँमा त्यो दिन खानेपानी आएको थिएन। पिताम्बर सिधै खानेपानी लिन हिँडे र घर फर्केपछि नातिनातिना कहाँ छन् भनेर साइली बुहारी सावित्रीलाई सोधें। उनले जवाफ दिइन्-अघिसम्म यतै घरमै खेल्दै थिए, छिमेकीका घरतिर गए कि! 

तर, रात पर्न लाग्दासमेत आर्यनलाई नभेटाएपछि परिवारका सबै जना आत्तिए। रेणुले छोरालाई किन नहेरेको भन्दै छोरीहरूलाई कराउन थालिन्। एकैछिनमा आर्यन हराएको गाउँभर नै हल्ला फैलियो। सबै गाउँलेले खोजे तर, रातभर पनि नभेटेपछि निराश बने।

त्यो रात आर्यनको परिवार जागै बसे। फेरि भोलिपल्ट बिहानैदेखि आर्यनको खोजीमा जुटे। आर्यन भेटिए तर, कहिल्यै नबोल्ने गरी। आर्यनको शव घरनजिकैको बाँसघारीमा धारिलो हतियारले हत्या गरिएको अवस्थामा भेटियो।

आर्यनलाई यस्तो अवस्थामा फेला परेपछि रेणुले अचेत भइन्। गाउँलेले शव उठाएर घरमा ल्याएपछिमात्रै प्रहरीलाई खबर गरे। प्रहरीले पछि आर्यनको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल पठायो। त्योसँगै प्रहरीले हत्याबारेको अनुसन्धान अघि बढायो। त्यसका लागि गाउँका ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो। 

को हुन् हत्यारा शत्रुधन?

मिथिला नगरपालिका–६ मा रेणुको घरभन्दा एक सय मिटरको दूरीमा उत्तरतिर शत्रुधनको घर छ। उनी झाँक्री हुन्। गाउँमा कसैलाई झारफुख गर्नुपरे उनै कहाँ पुग्छन्। 

शत्रुधनलाई शक्तिशाली धामी बन्ने मन थियो। बालकको बलि चढाए, अझै ठूलो र शक्तिशाली धामी बनिन्छ भन्ने सोचले बालकको बलि चढाएको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

सोधपुछका क्रममा पछि प्रहरीले शत्रुधनलाई पनि पक्राउ गर्‍यो। प्रहरीसँगको बयानमा उनले आर्यनको हत्या गरेको स्वीकारेका थिए।  गत कात्तिक महिनादेखि बलि दिन बालकको खोजीमा रहेका शत्रुधनलाई वैशाख २३ गते मौका मिल्यो। आँगनमा एक्लै खेल्दै गरेका आर्यनलाई शत्रुधनले चकलेट किनेर दिए।  

चकलेटकै आश देखाउँदै आर्यनलाई शत्रुधनले घर लगे अनि दूधभात खुवाएरु अबेर राति सबै सुतेका बेला नजिकैको बाँसघारीमा लगेर आर्यनलाई बलि दिएको प्रहरीसँगको बयानमा शत्रुधनले खुलाएको डिएसपी कार्कीले बताए। 

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, जेठ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्