दैनिक चार अर्ब आयात, २५ करोडमात्रै निर्यात
काठमाडौं, माघ ११: मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था बराबरी हुनु पर्ने हो । तर, पछिल्ला वर्षहरुमा देखिएको डरलाग्दो व्यापार घाटाले व....

काठमाडौं, माघ ११: मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था बराबरी हुनु पर्ने हो । तर, पछिल्ला वर्षहरुमा देखिएको डरलाग्दो व्यापार घाटाले वर्तमान सरकारको आत्मनिर्भर अर्थतन्त्रको नारालाई समेत गिज्याइरहेको छ । नेपाली उत्पादनभन्दा उपभोग बृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हुँदै गएको छ ।
गत आर्थिक वर्ष २०७४/७५ मा ८१ अर्ब १९ करोड रुपैयाँको निर्यात गर्दा १२ खर्ब ४२ अर्बको आयात गरेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७३/७४ मा पनि ३० अर्ब ७३ करोड रुपैयाँको निर्यात गर्दा आयात नौ खर्ब ९० अर्ब पुगेको थियो ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको स्थिती पनि त्यस्तै देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा कुल वस्तु आयात ३४.२ प्रतिशतले बढेर ६ खर्ब ६ अर्ब ९९ करोड ६० लाख पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष पाँच महिनामा चार खर्ब ५२ अर्बको आयात भएको थियो ।
यो आयातको बृद्धिदर झन्डै दोब्बर रहेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ ।
पाँच महिनामा नेपालबाट निर्यात भने ३७ अर्ब ५० करोड मात्रै रहेको छ । कुल वस्तु निर्यात अघिल्लो वर्ष भन्दा ११.२ प्रतिशत मात्रै वृद्धि भएको हो । अघिल्लो ३३ अर्ब ७२ करोड रुपैयाँको निर्यात भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ ।
दैनिक व्यापार स्थिति : २५ करोडको निर्यात, चार अर्ब ६६ करोडको आयात
यो तथ्यांकले मासिक आयात एक खर्ब ४० अर्ब रुपैयाँ देखाउँछ भने दैनिक चार अर्ब ६६ करोड रुपैयाँको सामान नेपालमा आयात हुने गरेको छ ।
तर निर्यात भने मासिक सात अर्ब ५० करोड रुपैयाँ रहेको छ भने दैनिक २५ करोड रुपैयाँको निर्यात हुने गरेको छ ।
व्यापार घाटा मासिक एक खर्ब १३ अर्ब
पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले बढेर पाँच खर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । पाँच महिनाको अवधिमा निर्यात–आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७.५ प्रतिशत रहेको थियो । पछिल्लो पाँच महिनामा मासिक घाटा एक खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ भने दैनिक व्यापार घाटा तीन अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
तरकारीदेखि उपकारणसम्म आयात
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात हुने गरेको छ । त्यस्तैगरी सवारी साधन तथा पार्टस्, हवाईजहाज तथा पार्टपूर्जा, एम.एस. बिलेट पनि आयात हुने गरेको छ । अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी, फलफूल तथा चामललगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, कच्चा भटमासको तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजारलगायतका वस्तुहरुको आयात घटेको छ ।
विश्वमै आयात र निर्यात भएरै व्यापार धानिने भएपनि नेपालमा निर्यात बढ्न नसक्नुमा धेरै कारण रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । “कृषिदेखि उपकरणसम्म निर्यात घट्नु र आयात बढ्नुले राज्यले नै नीतिलाई परिवर्तन गर्नुपर्ने हो कि ? भनेर सोच्ने बेला आएको छ,” उपाध्यक्ष गोल्छाले भने ।











-1754206481.jpg)